काठमाडौँ,१२ चैत । आफ्नो पीडा सुनाउन काठमाडौँका लागि पैदल हिँडेका मिटरब्याजी पीडितहरू आज काठमाडौँ आइपुग्ने भएका छन् । चैत २ गते महोत्तरीको बर्दिवासबाट हिँडेका मिटरब्याजी पीडितहरू काठमाडौँ नजिक आइपुगेका छन् । साँझसम्म काठमाडौँ आइपुगिने आन्दोलनमा सहभागी मनोज पासवानले बताए ।
तराईबाट ७१ जना पीडितहरू आन्दोलन गर्न काठमाडौँ आइरहेका छन् । उनीहरूमध्ये अधिकांश महिला छन् । आन्दोलनकारीहरूलाई बीच बाटोबाटै फिर्ता पठाउने प्रयाससमेत भएको थियो । मकवानापुरका प्रमुख जिल्ला अधिकारीले आन्दोलनकारीलाई भेटेर सरकार माग पुरा गर्न सकारात्मक रहेको बताउँदै त्यहीँबाट फर्किन आग्रह गरेका थिए । प्रजिअ राजेन्द्र देव पाण्डेले सहयोगको प्रस्ताव समेत गरे पनि आफूहरूले उनको प्रस्ताव अस्वीकार गरेको पासवानले बताए । ‘अब जे हुन्छ, काठमाडौँमै हुन्छ,’ न्याय नपाएसम्म नफर्किने तयारीका साथ आफूहरू काठमाडौँ आउन लागेको उनले बताए ।
एकजना पीडित महिला आफ्नो चार महिनाको शिशुलाई बोकेर १० दिनको यात्रामा सहभागी छन् । बाटोमा आउँदा आज एकजना महिला बेहोससमेत भएकी थिइन् । स्थानीय एक स्वास्थ्य चौकीमा उपचार पछि उनी फेरि पैदलयात्रामा सहभागी भएकी छन् । ब्लडप्रेसर लो भएका कारण बेहोस भएर ती अभियन्ता लडेको पासवानले बताए ।
१० दिनको यात्रामा केहीलाई ज्वरो आए पनि सिटामोल खाएर भए पनि यात्रालाई जारी राखेको उनले सुनाए । ‘हिँड्दा खुट्टामा घाउ भएको छ । धेरैलाई हिँड्न नै गाह्रो भइरहेको छ । तर सबैमा यात्रा पुरा गर्ने अठोट छ,’ उनले भने ।