वीरगंज महानगरका प्रमुख राजेशमान सिह शहरको सौन्दर्यीकरणका लागि अनेक उपक्रम गरिरहेका छन। यसमध्येको एक हो घटांघर। यहां मनमोहक झिलिमिली बत्तीको प्रबंध भएको देखेर रक्सौलका पत्रकार दीपक अग्निरथले यी वीरगंज र रक्सौललाई लिएर कैयौ सवाल आफ्नो सामाजिक संजालमा पस्केका छन। यसबाट यी
दुई शहर आफैमा एक अर्काका पूरक हुन कि प्रतिस्पर्धी भन्नेमा चिंतन गर्न मन लाग्यो।
नेपालको आर्थिक राजधानीको नामले चिनाईने वीरगंजसंग जोडिएको भारतीय सीमावर्ती शहर रक्सौलको नाम संगै गांसिएर आउंछ । यी दुई शहरको साझा परिचय छ – “सीमांत शहर “ । सिर्सिया नदीको किनारमा अवस्थित यो शताब्दी पुरानो शहरहरू एक अर्काका पूरक र सहयोगी पनि हुन । एक अर्काको कारणले दुइटै शहरको विस्तार र महत्व बढेको छ । भनिन्छ – नेपाल गभर्नमेण्ट रेलवे बाट अमलेखगंजसम्म रेलमा चढेर जान सकिने भएपछि अमलेखगंजबाट काठमाडौ पुग्न सजिलो पर्ने भएको हुंदा त्यसबेला देखि वीरगंजले नेपालको प्रवेशद्वारको परिचय बनाउन शुरू ग–यो ।
नेपालका कैयौ ऐतिहासिक प्रसंगमा रक्सौल जोडिन पुगेको छ । रक्सौल लामो समयसम्म विभिन्न भूगोलका नेपालीहरुका लागि काठमाडौ जाने मूख्य आधार थियो । त्यसैले होला सीमावर्ती भारतीय शहरहरूमध्ये रक्सौलले नेपाली जनजिब्रोमा बढी चर्चा पाएको छ । रक्सौलवासी दुवै शहरको सम्बन्धलाई यस्तो किसिमबाट रंग्यांएर प्रस्तुत गर्छन कि हरेक कुरा भावनात्मक भई दिन्छ। रक्सौल आज बिहारको मूख्य अन्तराष्ट्रिय नाका भए पनि यसको प्रशासनिक हैसियत जिल्ला मूख्यालयको छैन। यो पूर्वी चंपारण जिल्लाको एउटा अनुमंडल मात्र हो , यता वीरगंज महानगरपालिकाको हैसियतमा छ । रक्सौलले वीरगंजलाई भारतको मूम्बईको दर्जा दिन्छन ।
उनीहरू भावुक हुंदै भन्छन – “हाम्रो नाता रगतको छ , उहि सिर्सियाको पानी खाएर हामी संगै हुर्किएका छौ “। इतिहासमा राज्यको भूगोल बदलिदै गरे , तर यसक्षेत्रमा बसोबासका आधार सिर्सिया जस्तै प्राचीन छ । लोकमान्यता अनुसार सिर्सिया नदीमा रामायण कालमा सीता बाल्मीकि आश्रममा शरण लिएकी बखत कुनै दिन आफ्नो संतान लव – कुशलाई यही नुहाएकी थिईन । लामो समयसम्म त्यसमा स्नान गर्नेहरू आफु चर्म रोगबाट आरोग्यको अनुभुति गर्थे ।आज त्यो नदी औधोगिक नगर वीरगंजका कारणले प्रदुषित छ । नेपाल गभर्नमेण्ट रेल्वेको स्थापना र संचालन ले वीरगंज तथा यसका वरिपरिका क्षेत्रहरूको आर्थिक जीवनमा परिवर्तन देखा पर्न थाल्यो । वीरगंज रक्सौल बीच सिर्सिया नदीमाथि राणाकालमै काठको पुल बनेको थियो पछि रेलको लिक ओछ्याईएको पुल बन्यो जसको भग्न अस्तित्व अझै छ । आज त्यहां पक्की पुल छ जो मितेरी पुलको नाम पाएको छ ।
रक्सौलमा रेलसेवाको बिकाससंगै नेपाली क्षेत्रका बासिन्दाहरू आफ्नो कारोवार उतै गर्थे । यहांसम्मकी आफ्नै तिरका बजारहरूमा अचल सम्पत्ति आर्जन गर्नु भन्दा उतैतिर का लागि प्राथमिकता दिन्थे । फ्रेडरिक एच . गेजले आफ्नो पुस्तक “ रिजनलिज्म एण्ड नेशनल युनिटी इन नेपाल“ मा लेखेका छन,“ सीमावर्ती बजारहरूमा नेपाली कारोबार गर्नु वा घर बनाउनु तत्कालीन समयमा खासगरि मधेशी समुदायका लागि ठूलो हैसियतको विषय मानिन्थ्यो । रेलले गर्दा वि सं २००७ सालको क्रांतिताका नेपाली जागरण हुनमा बल पुग्यो । सीमावर्ती क्षेत्रमा समानांतर रेल सेवा नभएको भए भारतीय पुर्नजागरणको देशव्यापी प्रभाव नेपालमा पर्ने थिएन । शिक्षा, स्वास्थ्य, ब्यापार लगायत आधुनिक दुनिया लाई चियाउने आंखीझ्यालको रूपमा सीमावर्ती रक्सौलको रेल देखा प–यो ।
दिल्ली र काठमांडू बीच मनमुटाव हुंदा कतिपय बेला त्यसको प्रभाव वीरगंज र रक्सौलका बीचमा देखा परेको छ भने कतिपय बेला परेको छैन । कैयौ पटक स्थानीय स्तरमा भर्सेजको उत्तेजना प्रकट हुन्छ फेरि छोटो समयमै यस्तो हुन्छ केही भएकै छैन । अतीतमा रक्सौलले वीरगंजमा हुने नेपाली जनसंघर्षलाई शरण दियो । वि सं ००७ का राजनीतिक संघर्षमा रक्सौल नेपाली योध्दाहरूका लागि प्राथमिक छनौटमा थियो । त्यस क्रांतिलाई केन्द्रबिंदु मानेर लेखिएका पुस्तकहरूमा रक्सौलको महिमा बर्णन गरिएको छ । नेपाली जनक्रांति वीरगंजका अग्रणी योद्धा तेज बहादुर अमात्य राजा महेन्द्रको सैनिक कू पश्चात रक्सौलमै ओत लागेका लिए । त्यहां चामल बजार स्थित बैधनाथ प्रसाद गुप्ताको घरमा बस्थे जो पंचायत विरोधी राजनीति गर्नेहरूका लागि एक महत्वपूर्ण सीमावर्ती केन्द्र बनेको थियो । त्यहां २९ मई १९६२ का दिन दिउसै बम विस्फोट गराईयो जो अमात्य विरूद्ध लक्षित थियो तर उनी जोगिए ।
मकानको एउटा हिस्सा ध्वंस्त भयो । तर १० अप्रिल १९६६को सांझ पंचायती सरकारका भरौटेहरूले रक्सौलमै उनको हत्या ग–यो । रक्सौल पछिल्ला मधेश आन्दोलन सम्म नेपाली जनतालाई समर्थन दिदै आएको हो ।वीरगंज – रक्सौल सीमाको वरिपरि बस्ने ती बासिन्दाहरू जसका कतिपय सामाजिक, आर्थिक स्वार्थहरू समान र साझा छन र जसका वारिपारिको संवाद र सम्पर्कको नियमितता छन । यहि सम्बन्धको गहिरोपनले नेपालका क्रांतिहरूलाई रक्सौलका जनताले ऐक्यबध्दता दिदै आएक छन । वीरगंज – रक्सौलको सम्बन्ध ’ प्लेस टू प्लेस ’ को छ । वीरगंजका कोही रक्सौल जाने भन्छन , ऊ आफू भारत गएको भन्दैन । स्थानीक सम्बन्धका आफ्नै आयामहरू छन । वीरगंजको कथ्यमा जुन प्रकारको रक्सौल छ , त्यसैगरि रक्सौलले वीरगंजलाई जुन भाष्य दिन्छ त्यो दिल्ली र काठमांडूका लागि बेलाबखत अचम्भित बनाउंछ । वीरगंजको साहित्य,कला , संगीत रक्सौल बिना अधूरो छ , रक्सौलका सांस्कृतिक अनुष्ठानहरू वीरगंजको उपस्थिति बिना पूर्ण हुंदैन । वीरगंज बाटजब कोही सार्वजनिक कार्यक्रममा रक्सौल पुग्छ त्यतिखेर ऊ सिङ्गो नेपालको प्रतिनिधित्व गर्न पुग्छ । वीरगंज – रक्सौल बीच सामिप्यता र पृथकताको सम्मिश्रण नै यो दुई शहरको मौलिकता हो ।
पृथक राजनीतिक अस्तित्वले गर्दा वीरगंज रक्सौलभन्दा तुलनात्मक रूपमा उदार र प्रगतिशील रहेको रक्सौलवासीकै टिप्पणी सुनिन्छ । नेपालको वैभवशाली शहर वीरगंजको भब्यता सामुन्ने आफ्नै राज्यको बेखवरीले गर्दा शहरको अवस्था लथालिङ्ग रहेको प्रति हीनता बोध पनि छ त्यहां। यो हीनताबोध कैयौ सवालमा वीरगंज तिर पनि छ , वीरगंज आफैमा “गांऊ नै गांऊको“ महानगर हो , यहांका किसानभन्दा पारिका किसान राज्यभन्दा बढि संरक्षित छन । दुई सार्वभौम मुलुक तर जुम्ल्याहा शहरको सम्बन्धलाई निरंतरता जनताले दिन्छ । सम्बन्धलाई जिवंतता जोडिएको भूगोल र त्यस जनित पारस्परिकताले मात्र बनाएको होईन ।
दशगजाले दूई शहरलाई छुट्याए पनि धार्मिक, सांस्कृतिक, ऐतिहासिक निरंतरताले सीमा अन्त होईन , बरू सीमाविहिन सम्बन्धहरूको निरंतरता शुरूआत गर्छ । कतिपय अवस्थामा राजनीतिक सीमा कागजमा खिचिएको फगत लकिर साबित भएको छ । राजनीतिक समुदाय भन्दा अधिक बलशाली सांस्कृतिक समुदाय देखिन्छ । भाषा, संस्कृति, परम्परा, साहित्य, लोक मूहावरा, लोक साहित्य, लोकसंगित, लोक कलाले अंतराष्ट्रीयतालाई स्थानियताको इन्द्रेणी दिएको छ । राजनीति आआफ्नो सीमामा कतिपय सन्दर्भमा बांधिएको हुन्छ तर संवेदना र साहित्य कुनै सिमाना वा सत्ता राजनीतिको मुखापेक्षी हुदैन । सीमांचलको अवधारणा यही निर मूर्तिमान हुन पुग्छ । साहित्य स्मृतिका एक माध्यम हुन । स्मृतिहरू हाम्रा लागि एक दर्पणको काम गर्छ । साहित्यकार सीमाले उठाएको कतिपय पर्खालहरूमा रोशनदान ( उज्यालो आउने झ्याल) को काम गर्छ । रक्सौलका कवि जय प्रकाश पुष्पले लेखेका छन – “ सीमांए बांटती है बेशक दोनों मुल्कों को लेकिन ÷ दिलों का बांटने का काम, कभी हो न सका ।
सीमा शहर वा नाकाको चर्चा चल्दा भारतीय सार्वजनिक विमर्शमा अमृतसर ( भारत) र लाहौर ( पाकिस्तान) वा बाघा – अटारी बार्डरको जति घनत्वका साथ चर्चा चल्छ त्यति वीरगंज – रक्सौलको चल्दैन । नेपाल – भारत सीमावर्ती क्षेत्रका कैयौ शसरहरूको वीरगंज – रक्सौल समतुल्य सम्बन्ध छ । तर नयां ढंगले सम्बन्ध विकसित गर्न अध्ययन अनुसंधानको कमी छ । भारतको बजेट त छंदैछ बिहारको बजेटको कुन विषयले कस्तो प्रभाव पा–यो । रक्सौलमा हुने राजनीतिले वीरगंजसंगको सम्बन्धमा कस्तो असर पार्दछ ? यसैगरि सीमावर्ती शहरहरूको सम्बन्धमा के फरकपन आंउदै गरेको हो ? पहिला के कस्ता सामाजिक – आर्थिक आकर्षक थियो , अब के कता फेरिए ? यस्ता विषयमा दुवैतिरको मिडियामा खासै रिपोर्टिंग पाइदैन । सीमावर्ती जोडिएका शहरहरूको जनसम्बन्धका पत्रहरू बारे संवाद हुदैन । पर्यावरण, विपद, जीवनस्तर सुधार, सहज आवागमन, पारस्परिक हार्दिकता जस्ता पक्षहरूमाथि साझापनको खोजी हुदैन । यो काम स्थानीयले नै गर्न सक्छ । मानवीय सरोकारहरूबाट रहित कसरी हुन सकिन्छ ?
रक्सौल विलोमहरूको शहर हो एकातिर नेपालको जीवनदायिनी नाका हो भने आर्को तिर उतिकै साथ मूल्यांतर कारोवारको स्वर्ग पनि हो ।सार्वजनिक बहसका लागि उपलब्ध पब्लिक स्फेयरको निरंतर संकुचन यो सिमांन्त शहरको परिचायक हुन पुगेको छ । सस्तो पाईने लोभले यस क्षेत्रका उपभोक्ता रक्सौल र उताका वीरगंज आउने – जाने प्रचलन अध्यावधि छ । रक्सौलका जनप्रतिनिधिले आफ्नो नागरिकको नाड़ी छाम्ने नगरेको गुनासो छ । रक्सौलवासी “दिल्ली दूर है“ भन्ने मनोभावमा हुर्किएका छन । त्यसैले होला वीरगंजले काठमांडौ मार्फत दिल्ली समक्ष रक्सौलका उन्नतिका लागि पैरवी गर्छ । वीरगंजले रक्सौललाई कतिको चिनेको छ ?
रक्सौलले वीरगंज लाई कति बुझ्छ ? रक्सौलमा नेपाली रूपियां सहज चल्छ तर बजारमा त्यसको सटही दर प्रत्येक दिन फरक हुन्छ । यो सटही दर दुई केन्द्रको सहमतिमा निर्णय भए अनुसारको हुंदैन ।त्यसमा भारतीय राज्य भन्दा स्थानीय बजारको नियंत्रण बढि छ । सीमा नाकामा दुवैतर्फ सरकारी सटही केन्द्र छैन । यी दुई शहर बीच हुने अनौपचारिक ब्यापारका आफ्नै शब्दावली छ । सीमा नाकालाई बैज्ञानिक एवं ब्यावहारिक बनाउन सुख्खा बंदरगाह , रक्सौल संग जोडिएर मालवाहक रेल र अब एकिकृत भंसार चौकी संचालनमा छ । तर पनि अनेकौ अवरोध छ । यता वा उताका स्थानीय प्रशासनका मर्जीमा धेरै रितिहरू बनाउने र भत्काईने गरिन्छ । रक्सौल र वीरगंजका समाजमा के फेरबदल हुंदैछ ? एक अर्काप्रतिको आकर्षक केवल सस्तो किनमेल सम्म मात्र सिमित छ कि ? दुवै शहरले अपेक्षित सहजता र समृद्धिका लागि साझा रूपमा उठाउने कुरा के हुन ?
रक्सौलमा मदिरा बेचबिखनमा प्रतिबंध छ तर वीरगंज त्यसैलाई लक्षित गरि आफ्नो नयां बजार बनायो। वीरगंजका युवालाई लक्षित रक्सौल लागूपदार्थको अघोषित बजार बनेको छ । रक्सौलमा आगो लाग्दा के वीरगंज सुरक्षित रहला ? वीरगंजमा बाढि आंउदा के रक्सौलले जोखिम बेहोर्दैन ? ठंढा दिमागले सोचौ ।