काठमाडाैँ,१४ चैत । बरिष्ठ नेता अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ । राईको नेतृत्वमा २ मन्त्रालयसहित जसपा सरकारमा सहभागी हुने सहमती भएको पार्टी स्रोतले जानकारी दिएको छ ।
स्रोतकाअनुसार राईले उपप्रधानसहित १ मन्त्रालयको जिम्मेवारी पाउने बुझिएको छ भने अर्काे एउटा मन्त्रालय कसले पाउने भन्ने टुंगो लागिसकेको छैन । यसअघि जसपाले ३ वटा मन्त्रालय र १ वटा राज्यमन्त्री माग गरेपनि २ वटा मन्त्रालयमा सहमती भएको जसपाले जनाएको छ ।
मधेस प्रदेश सरकारको नेतृत्व पनि जसपाले गर्नेगरी गठबन्धनमा सहमति जुटिसकेको जसपाकै एक नेताले बताए । “पार्टी अशोक राईको नेतृत्वमा सरकारमा जान्छ । हामीले केन्द्रमा दुई मन्त्रालय र मधेस प्रदेश सरकारको नेतृत्व गर्नेछौँ,” ती नेताले भने । जसपाले अर्को मन्त्री भने मधेसबाट पठाउने उनले जानकारी दिए । यसरी मन्त्री पठाउँदा राजकिशोर यादव, प्रदीप यादव, नवलकिशोर शाहलगायतका नेताहरू दौडमा छन् ।
पार्टीले मन्त्री छान्ने अधिकार भने पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिइसकेको छ । तसर्थ यादवसँग नजिक मानिएका यसअघि वन तथा वातावरण मन्त्रीसमेत बनीसकेका प्रदीप यादवलाई मन्त्री बनाउने प्रबल सम्भावना देखिएको छ ।
पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित यादवले पार्टीप्रति दिएको योगदानको मूल्यांकनका आधारमा र कार्यकौशलताका आधारमा पनि उनी नै मन्त्री बन्ने दौडको अग्रपंक्तिमा देखिन्छन् । स्रोतका अनुसार जसपाले शहरी विकास र शिक्षा मन्त्रालय दाबी गरिरहेको छ ।