काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले सात केजी ८८७ ग्राम लागुऔषध कोकिनसहित दुईजना भारतीय महिलालाई पक्राउ गरेको छ ।
ब्युरोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्ली लैजान लागेको अवस्थामा कोकिनसहित एक भारतीय महिला र काठमाडौंको ठमेलस्थित एक होटलबाट अर्का एक भारतीय महिलालाई पक्राउ गरिएको जनाएको हो ।
पक्राउ पर्नेमा ४५ वर्षीया भन्लालमी र २९ वर्षीया इस्थर लाह्लिमपुई रहेको ब्युरोले जनाएको छ । बरामद भएको कोकिनको अवैध बजार मूल्य १७ करोड तीन लाख ५१ हजार रहेको ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले जानकारी दिए ।
फागुन १४ गते दिल्ली जान लागेकी भन्लालमीको लगेज चेकजाँच गर्ने क्रममा लगेजभित्र चारवटा लेडिज फल्सबटम बनाएर लागुऔषध लैजान लागेको अवस्थामा पक्राउ गरिएको खनालले बताए ।
त्यस्तै, इस्थर लाह्लिमपुईलाई विशेष सूचनाका आधारमा हाटेलमा चेकजाँच गर्दा सुकटेसभित्र फल्सबटम बनाएर कोकिन लुकाइराखेको अवस्थामा पक्राउ गरिएको उनले बताए ।
पक्राउ परेका भारतीय नागरिकविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।