बीरगन्ज,२० चैत – बीरगन्ज महानगरपालिका वडा नं. १७ स्थित यादगार बचत तथा ऋण सहकारी सँस्था लि. का संचालक बचतकर्ताको करोडौ रकम लिई फरार भएका छन् । सहकारीका संचालक बीरगन्ज महानगरपालिका वडा नं. १५ भिस्वा निवासी राहुल सिंह, श्रीमती शान्ति चौधरी लगायतकाले बचतकर्ताको करिब १० करोडको हराहारी रकम लिएर फरार भएको वचत कर्ताहरुले बताएका छन् ।
सो सहकारी संस्थाको कार्यालय बिगत लामो समय देखि बचतकर्ताहरुको रकम संकलन गर्दै सहकारीका संचालकहरु एकाएक सम्पर्क बिहिन भएको तथा कार्यालय बन्द गरेको बचत कर्ताहरुले बताएका छन् ।
सो सहकारी सँस्थामा रानीघाट, अशोकवाटिका, श्रीपुर, रामगढवा क्षेत्रका अधिकाँश सर्वसाधारणहरुले खाता खोली रकम बचत गर्दै आएका थिए । गरिब परिवारदेखि न्यून्तम वर्गका बचतकर्ताहरुले रकम बचत गर्दै आएकोमा एकाएक संचालक फरार भएपछि बचतकर्ता मर्कामा परेका छन् । गरिब निमुखा परिवारका सदस्यहरुले दैनिकी खर्चबाट कटौती गरि दैनिक ५ सय देखि १ हजार रुपैया गरेर ५० हजारदेखि ९ लाखसम्म जम्मा गरेका थिए । जम्मा गरेको पैसा निकाल्ने बेला आएपछि संचालक नै फरार भएको पीडित बचतकर्ताको गुनासो छ ।
सहकारीका कोषाध्यक्ष बलिराम साह पनि विगत डेढ महिनादेखि सम्पर्क विहीन भएका छन् त्यस पश्चात बचतकर्ताहरुलाई शंका लागेपछि सहकारीको कार्यालयमा हेर्दा विगत दुई हप्तादेखि ताल्चा लागेको थाहा परेपछि बचतकर्ताहरु पीडामा परेका हुन् । बचत कर्ताहरु बिच सहकारी भाग्न लागेको हल्ला चले पनि बचत गरेको पैसा झिक्न खोज्दा सहकारीले भुक्तानी नदिएको तथा एकाएक सम्पर्क बिहिन भएको बचतकर्ताहरुको गुनासो छ । उनीहरु न्यायको लागि प्रहरीमा जाने तयारी गरीरहेको छन्