जनकपुर,३० वैशाख । सर्लाही प्रहरीले सीमावर्ती क्षेत्रबाट काठमाडौं जाँदै गरेको एक यात्रुबाहक बसका सहचालक र सहयोगीको साथबाट ठूलो मात्रामा लागूऔषध बरामद गरेको छ ।
भारतीय सीमावर्ती गाउँ मधुवनबाट काठमाडौंका लागि छुटेको वाग्मती प्रदेश ०६–००१ ख ०००३ नम्बरको यात्रुबाहक बसका सहचालक गोडैता नगरपालिका–११ का २२ वर्षीय अजय सहनी र गोडैता–८ का सहयोगी ३२ वर्षीय ताजबाबु दर्जीको साथबाट ठूलो मात्रामा लागूऔषध बरामद भएको हो ।
बिहीबार राति काठमाडौं जाँदै गरेको बस बरहथवामा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले जाँच गर्नेक्रममा सहचालक सहनीले बोकेको झोलाबाट कोडवेल कफ सिरप ८९ थान, नोफिन लेखिएको ९१ एम्पुल, डाइजेपाम ९१ एम्पुल, फेनरागन ९२ एम्पुल, नाइट्राभेट २० पत्ता, नाइटजाकेयर ९० पत्ता बरामद भएको छ । यस्तै, सहयोगी दर्जीले बोकेको झोलाबाट कोडवेल कफ सिरप ९८ थान बरमद भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले शनिबार पत्रकार सम्मेलन गरेर बताए ।
प्रहरी नायब उपरीक्षक मिश्रले सहचालक र सहयोगी दुवैले झोला बोकेको देखेपछि शंका लागेर जाँच गरिएको जानकारी दिए । प्रहरीको चेकिङबाट बच्न उनीहरु आफैंले झोला बोकेका थिए ।