बीरगन्ज,०२ जेठ । बीरगन्ज महानगरपालिका वडा नम्बर ३० मा एसईई उत्तीर्ण गरी कक्षा ११ मा अध्ययनरत १६ जना छात्रालाई कम्प्युटर वितरण गरिएको छ ।
नेपाल राष्ट्रिय आधारभूत विद्यालय लालपर्सामा आयोजित एक कार्यक्रमबीच छात्रालाई १६ थान डेस्कटप कम्प्युटर वितरण गरिएको वडाध्यक्ष मनोजकुमार यादवले बताए । वडाध्यक्ष यादवले आफ्नो चुनावी घोषणापत्रअनुसार एसईई उत्तीर्ण गरी हाल कक्षा ११ मा अध्ययनरत छात्राहरुलाई कम्प्युटर प्रदान गरिएको बताए ।
‘महानगरपालिका भए पनि मेरो वडा ग्रामीण भेगमा पर्छ, कतिपय छात्रा एसईई उत्तीर्ण गरेपछि पठनपाठनलाई अगाडि बढाउँदैनन्,’ वडाध्यक्ष यादवले भने । वडाध्यक्ष यादवका अनुसार स्कुलमा कम्प्युटर कक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुको गाउँ कम्प्युटर नहुँदा पढाइ प्रभावित भइरहेको हुन्छ । ‘११ कक्षामा अध्ययनरत छात्रालाई कम्प्युटर प्रदान गर्दा नयाँ छात्राहरुलाई पनि पढाइप्रति हौसला बढ्छ,’ उनले भने ।
यसपालि एसईई परीक्षामा सहभागी भएका छात्राहरुलाई असार मसान्तपछि कम्प्युटर प्रदान गर्ने योजना रहेको वडाध्यक्षले सुनाए । छात्राहरुलाई ल्यापटप वितरण गर्ने योजना भए पनि बजेट अभावका कारण डेस्कटप कम्प्युटर वितरण गर्नुपरेको उनले सुनाए ।
आफ्नो कार्यकालभर एसईई उत्तीर्ण गरी कक्षा ११ मा अध्ययनरत छात्रालाई कम्प्युटर वितरण गर्ने उनले बताए ।
पर्सा क्षेत्र नं. १ का सांसद एवम् पूर्व वनमन्त्री प्रदीप यादव र बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले छात्राहरुलाई कम्प्युटर वितरण गरेका थिए ।