काठमाडौंः सांसद् गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई निष्पक्षतवरबाट टुङ्गोमा पुर्यानुपर्ने बताएका छन्। प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिंदै सांसद् थापाले भुटानी शरणार्थी प्रकरणमा दोषी कोही पनि छुट्न नहुने बताएका हुन् ।
थापाले भने, ‘राज्यविरुद्धको अपराधमा निष्पक्ष छानविन हुनुपर्छ । चाहे त्यो घरको मान्छे होस् चाहे बार्दलीको मान्छे होस् । चाहे त्यो नेता होस् चाहे त्यो नातेदार होस् । एक जना पनि मान्छे छुट्नु हुँदैन । दूधको दूध पानीको पानी छुट्याउनुपर्छ । नेपाली नागरिकले चाहेको कुरा यही हो ।’
एकपछि अर्को गर्दै सबै तानिंदै जाने अवस्था आउनुले लाज पनि लजाएको बताए । थापाले भने, ‘अनुसन्धान कसरी भइरहेको छ । सबै जनाले हेरिरहेका छन् । चाहे घर होस् चाहे बार्दलीको होस् । नेता होस् कि नाता होस् । सलामी गर्ने होस् कि सलामी लिने होस् एक जना पनि छुट्न हुँदैन । ससरकारले गरेको अनुसन्धान फेयर हुनुपर्छ । नत्र अवश्य प्रश्न उठ्छ ।’