काठमाडौँ,१० जेठ । वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले जडीबुटी उत्पादन र निर्यातलाई सहज बनाउन भूमिका खेल्ने बताएका छन् । बुधबार बिहान शपथग्रहणपछि मन्त्रालयमा पुगेर कार्यभार सम्हालेपछि मन्त्री महतोले जडीबुटीको उत्पादन र निर्यातलाई सहज बनाउने बताएका हुन् ।
‘देशमा आर्थिक संकट छ, भोलिका दिनमा त्यस्तो संकट टार्न हामीले नेपाली उत्पादनको निर्यात र बजार व्यवस्थापनमा ध्यान पुर्याउनुपर्नेछ । हामी कहाँ बहुमूल्य जडीबुटी उत्पादन हुन्छन् । ती स्वदेशी जडीबुटीलाई निर्यातका लागि सहज भूमिका खेल्ने र उत्पादनलाई प्रोत्साहन गर्ने काममा मेरो भूमिका हुन्छ,’ उनले भने ।
उनले २०औँ वर्षदेखि कुहिएर रहेका काठहरूको व्यवस्थापनमा समेत आफूले भूमिका खेल्ने बताए । ‘वन क्षेत्रका कारण जलविद्युत् आयोजनाहरूको फाइल रोकिएका छन् । म ती फाइलहरूको अध्ययन गरेर कानुनबमोजिम जलविद्युत् आयोजनाहरू निर्माणका लागि प्रोत्साहन गर्ने कुरामा मेरो पहल हुन्छ,’ उनले भने ।
उनले आफू मन्त्रालयमा रहुन्जेल भ्रष्टाचारमा शून्य सहनशीलताको नीति पूर्ण रूपमा अपनाइने बताए ।