जनकपुर,१० जेठ । मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि बनाउने नीति तथा कार्यक्रमका लागि राष्ट्रिय जनगणनाको तथ्याङ्क महत्वपूर्ण श्रोत भएको बताउनुभएको छ ।
अर्थमन्त्री यादवले राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौँले आयोजना गरेको राष्ट्रिय जनगणना २०७८ को मधेश प्रदेशको नतिजा जनकपुरधाममा आज सार्वजनिक गर्नु हुँदै प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको योजना बनाउँदा यसै तथ्याङ्कलाई आधार बनाएर काम गरिरहेको बताउनुभयो ।
उहाँले राष्ट्रिय तथ्याङ्क कार्यालयको डाटाहरू पूर्ण रुपमा वस्तुपरक तथा यथार्थ हुनु पर्ने धारणा राख्दै कुनै पनि देशको समृद्धि र विकासको कार्यक्रम गर्दा यस्ता प्रकारको तथ्याङ्कलाई आधार बनाउने भएकाले यसको निक्कै ठूलो महत्त्व रहेको बताउनुभयो ।
उहाँले राष्ट्रिय तथ्याङ्क कार्यालयले मधेश प्रदेशको नतिजा प्रकाशन अङ्ग्रेजीका साथै मधेश प्रदेशमा बोलिने स्थानीय भाषा वा कम्तीमा पनि नेपालीमा प्रकाशन गर्नका लागि आग्रह गर्नु भयो ।
मधेश प्रदेशका अर्थमन्त्री यादवले राष्ट्रिय तथ्याङ्क कार्यालयको नतिजा प्रकाशन निक्कै ढिलो भएको बताउँदै जनगणना सकेको एक महिना भित्रमा नै नतिजा सार्वजनिक गर्नका लागि सुझाव दिनु भयो ।
अध्यक्षको आसनबाट बोल्दै धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालले राष्ट्रिय तथ्याङ्क कार्यालयको डाटा विषयगत रुपमा सार्वजनिक हुन आवश्यक भएको बताउँदै अगामी दिनमा यस तर्फ ध्यान दिनका लागि आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक मनोहरी थापाले यस पटकको राष्ट्रिय जनगणना यथार्थ परक हुनुका साथै स्थानीय युवाहरूलाई परिचालन गरेर भएकाले वस्तुपरक भएको दाबी गर्दै सामान्य त्रुटिहरू हटाउँदै जाने बताउनुभयो ।
सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को मधेश प्रदेशको सूचकाङ्कमा मधेश प्रदेशको जनसङ्ख्या ६१ लख १४ हजार ६ सय रहेको छ । मधेश प्रदेशमा महिला भन्दा पुरुषकै जनसङ्ख्या बढी रहेको पाइन्छ । अन्य प्रदेशमा महिलाको सङ्ख्या बढी रहेको छ । मधेश प्रदेशमा पुरुषको जनसङ्ख्या ३० लाख ६५ हजार ७ सय ५१ अर्थात् कूल जनसङ्ख्याको ५०.१४ प्रतिशत रहेको छ ।
यसै गरि महिलाको जनसङ्ख्या ३० लाख ४८ हजार ८ सय ४९ अर्थात् ४९.४८ प्रतिशत रहेको छ । औषत जनसङ्ख्या वृद्धिदर १.१९ प्रतिशत रहेको छ । मधेश प्रदेशमा जनसङ्ख्या अत्यधिक भएपनि क्षेत्रफल सानो भएकाले जनघनत्व बढी रहेको छ ।
यस पटकको जनगणनामा प्रति वर्ग किलोमिटरमा ६३३ जना रहेका छन् । २०६८ को जनगणनामा ५४९ जना प्रतिवर्गमा बसोबास गरेका थिए । यसमा बसाई सराई पनि प्रमुख कारणको रुपमा रहेको छ ।