जनकपुर,११ जेठ । मधेश प्रदेश सरकारमा लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) सहभागी हुन लागेकाे छ । जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेस प्रदेश सरकारमा लाेसपाकाे सहभागिताले चाैथाे पटक मन्त्रिपरिषद विस्तार हुन लागेकाे हाे । बिहीबार नै लाेसपाबाट मन्त्री बन्नेले शपथ ग्रहण गर्ने सम्भावनासमेत बलियाे बनेकाे छ ।
लोसपा स्रोतका अनुसार पर्साबाट प्रदेशसभा सदस्यमा निर्वाचित रमेशप्रसाद कुर्मी मन्त्री बन्ने भएका छन्। वन मन्त्रालय लिएर लोसपाले कुर्मीलाई सरकारमा पठाउन लागेको हो।
मुख्यमन्त्री सराेजकुमार यादवले गृह सञ्चार तथा कानुन, वन तथा वातावरण र श्रम तथा यातायात मन्त्रालय सम्हालिरहेका छन् । दुई वटा मन्त्रालय पाउनुपर्ने अडानमा सरकारविरूद्ध उत्रेका संसदीय दलका नेता अभिराम शर्मालाई पार्टी अध्यक्ष महन्थ ठाकुरले कुर्मीलाई सरकारमा पठाउन निर्देशनसमेत दिइसकेको एक नेताले बताए ।
अध्यक्ष ठाकुरले कुर्मीलाई सरकारमा पठाउन भनेपनि संसदीय दलका नेता शर्माले महोत्तरीबाट निर्वाचित रानीकुमारी शर्मालाई मन्त्री बनाउन चाहेका छन्।
नेता शर्माले बिहीबार मुख्यमन्त्रीलाई नाम नबुझाए प्रदेश समितिका तर्फबाट पत्र लेखेर कुर्मीलाई मन्त्री नियुक्त गर्न आग्रह गर्ने लोसपाको तयारी रहेकाे छ।
लोसपा मधेस प्रदेश समितिका अध्यक्ष एवं प्रदेशसभा सदस्य जितेन्द्र सोनलले पनि सरकारमा सहभागी हुन लाेसपा तयार रहेकाे बताएका छन् । उनले भने ‘सरकारमा सहभागी हुने विषयमा कुनै अलमल छैन। त्यसका लागि सैद्धान्तिक रूपमा हामी तयार नै छौं, जहाँसम्म संख्या र मन्त्रालयको कुरा छ, त्यो सहमतिमा टुंग्याउने हाे ।’