काठमाडौं,१२ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्मा अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले बैठक २० मिनेटका लागि स्थगित गरेका हुन्। एमालेले अध्यक्ष केपी शर्मा ओलीमाथि सत्तापक्षले पशुपतिको मन्दिरको गजुरका विषयमा आधारहीन आरोप लगाएपछि बेल घेराउ गरेको थियो।
सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख घिमिरेले पटक-पटक सांसदहरूलाई बस्न आग्रह गरेका थिए। तर, सरकारबाट प्रष्ट जवाफ नआएसम्म आफूहरूले संसद् अवरोध भन्दै एमाले सांसदहरूले बेल घेराउ गरेका थिए।
संसद्को अघिल्लो कार्यकालमा पनि एमालेले आफ्ना सांसदहरूलाई सभामुखले कारबाही गरेर निकालेको सूचना प्रकाशन नगरेको निहुँमा करिब नौ महिना लगातार संसद्मा नाराबाजी गरेको थियो। यद्यपि, एमालेको नाराबाजीमै संसद् जारी रह्यो र स्थानीय निर्वाचनको नतिजा आएसँगै एमालेले बिनासर्ता संसद्को अवरोध हटाएको थियो।