नयाँ दिल्ली,१९ जेठ – चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग एक्लाएक्लै गरेको भेटवार्ता गरेपछि धेरै कुरामा सहज भएको बताएका छन् ।
शुक्रबार बिहान नयाँदिल्लीमा नेपाली पत्रकारहरूसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा दुई देशबीच हुने सहकार्य र सम्झौतामा कुरा बिग्रेला बिग्रेलाजस्तो भएर सम्हालिएको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी मोदीसँग ३ पटक वान-टु-वान भेटवार्तापछि वातावरण सहज भएको बताए
बुधबार नयाँदिल्ली पुग्दाका दिन केही जटिलता आउने हुन् कि जस्तो वातावरण रहेको प्रधानमन्त्री दाहालले बताए ।
बुधबार बेलुकाको अवस्था जटिल भए पनि बिहीबार बिहानबाट वातावरण सहज बन्दै गएको प्रधानमन्त्री दाहालले बताए । ‘अस्ति बेलुकाको स्थिति अर्कै थियो, हिजो बिहानबाट बिस्तारै वातावरण सकारात्मक बन्दै गयो र हैदराबाद हाउसको रिजल्ट आयो । एमओयू भयो, अग्रिमेन्ट भयो । हस्ताक्षर भयो । त्यो सबैले गर्दा यो भिजिट महत्त्वपूर्ण भयो,’ उनले भने ।
बुधबार दिल्ली ओर्लिएपछि नेपाली दूतावास पुग्दा आफ्नो अनुहारमा कुनै चमक नभएको समेत उनले बताए । आफूलाई कुनै दबाब भएजस्तो महसुस भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै पहलमा वातावरण सहज हुन पुगेको उनले बताए ।
आफूले प्रधानमन्त्रीका रूपमा चार पटक भारत भ्रमण गरे पनि यो भ्रमण ऐतिहासिक भएको उनले बताए । पहिलेका भ्रमणलाई भन्दा यस पटक भारतीय सञ्चारमाध्यमले पनि राम्रो स्थान दिएको उनले बताए ।
त्यस्तै प्रधानमन्त्री दाहालले यस पटकको मुख्य ‘आउटकम’ लङटर्म पावर डिल नै भएको बताए । ऊर्जा क्षेत्रमै नेपालको सम्भावना भएको उल्लेख गर्दै दाहालले भने, ‘हामीले सबैभन्दा जोड दिएको दीर्घकालीन ऊर्जा सम्झौता हो । हामीसँग भएको पोटेन्सियल भनेको पावर सेक्टर नै हो ।’
आफूले भारतीय समकक्षी मोदीसँगको भेटमा सीमा विवाद थाती राखेर नेपाल(भारत सम्बन्धमा ब्रेक थ्रु हुन नसक्ने बताएको प्रधानमन्त्री दाहालले बताए ।