काठमाडौँ,२० साउन । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गरेको बताएका छन् । राजधानीमा जारी पार्टी केन्द्रीय समिति बैठकमा शनिबार बोल्दै पुनले जस्तोसुकै अप्ठ्यारो परिस्थिति आए पनि भ्रष्टाचार र बेथितिविरुद्ध थालिएको अभियान बीचैमा नरोकिने र रोक्न नहुने उल्लेख गरे ।
पुनले आफ्नै दलभित्र पनि कोही भ्रष्टाचारमा संलग्न भएको पुष्टि भए उन्मुक्ति दिन नहुनेमा जोड दिए । उनको प्रष्टिकरण सय केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग आठ वर्षअघि खिचेको सामूहिक तस्बिरलाई लिएर आफूबारे उठेको प्रश्नप्रति लक्षित थियो ।
बैठकमा पुनले सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानलाई पार्टी पुनःनिर्माणको मौकाको रुपमा सदुपयोग गर्नुपर्ने बताए । भ्रष्टाचारविरुद्ध चालिएका कदम देश, समाज र पार्टीको समेत शुद्धीकरण अभियान भएको उनको भनाइ थियो ।
पार्टी संगठनमा तीन एकको नीति लागू गर्नुपर्ने विचार पुनले व्यक्त गरे । पार्टीमा देखिएका समस्याको समाधान आगामी विधान सम्मेलनबाट हल गर्न उनले प्रस्ताव राखे । पार्टी पुनर्निर्माणको ऐतिहासिक सम्भावना रहेको चर्चा गर्दै पुनले वर्गसंघर्ष र राजनीतिक संघर्षको रूप फेरिएको बताए ।
फरक प्रसङ्गमा उनले आफू लामो समय स्वास्थ्य उपचारमा संलग्न हुनुपरेका कारण पार्टी नेता कार्यकर्ताका बीचमा उपस्थित हुन नसकेको स्मरण गरे ।