बीरगन्ज, २४ साउन । विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा बीरगन्जका निजी विद्यालयका सञ्चालकहरुपनि आन्दोलित भएका छन् ।
उक्त विधेयकको विरोधमा प्याब्सन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा घोषणा गरेको आन्दोलनको कार्यक्रमअनुसार बुधवार तीन वटै संस्थाले बीरगन्ज महानगरपालिकामा ध्यानाकर्षणपत्र बुझाएका छन् । प्याब्सन बीरगन्ज महानगरका अध्यक्ष आलोककुमार चौरसिया, एनप्याब्सन बीरगन्ज महानगरका अध्यक्ष जियालाल गुप्ता र हिसानका मनिष सिंहले बुधबार बीरगन्ज महानगरका मेयर राजेशमान सिंह, उपमेययर इम्तियाज आलम र शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
विधेयकमा समावेश गरिएका कतिपय प्रावधानहरू निजी लगानीका संस्थागत विद्यालयहरू प्रति पूर्वाग्रही मात्रै नभएर संविधान विपरित, अव्यवहारिक र अन्यायपूर्ण भएकाले त्यसलाई खारेज गर्नु पर्ने माग सहित देशभरका निजी विद्यालय सञ्चालकहरु आन्दोलनमा उत्रिएको प्याब्सन बीरगन्ज महानगरका अध्यक्ष आलोककुमार चौरसियाले बताए ।
उक्त विधेयक आफुहरुले भने बमोजिम संशोधन नगरी पारित गरिएको खण्डमा देशैभरका निजी विद्यालयहरु बन्द गर्न बाध्य हुने हिसानका मनिष सिंहले चेतावनी दिए ।
एनप्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठले आन्दोलनको चरणबद्ध कार्यक्रम अनुसार साउन २८ गते देशैभरका निजी विद्यालय बन्द गर्ने र भदौ १ गतेदेखि अनिश्चितकालिन विद्यालय बन्द तथा विद्यालयका सवारी साधनहरू सार्वजनिक स्थलमा पार्किङ गर्ने कार्यक्रम रहेको रामराज श्रेष्ठले जानकारी दिए ।