जनकपुर,२४ साउन । आफ्नै छोरीलाई जबरजस्ती विषादी खुवाएर हत्या गरेको आरोपमा प्रहरीले सुनसरीबाट एक जनालाई पक्राउ गरेको छ।
सुनसरीको बर्जु गाउँपालिका २ का अर्जुन कामतलाई प्रहरीले छोरीलाई विष खुवाएर हत्या गरेको आरोपमा बुधबार पक्राउ गरेको हो। सुनसरी प्रहरीका अनुसार मंगलबार राति मदिराले लठ्ठ बनेर आएका कामतले २० वर्षीया छोरी राधिकालाई तरकारीमा हाल्ने विषादी जबरजस्ती खुवाएका थिए।
बुवाले जबरजस्ती विष खुवाएपछि बिरामी बनेकी राधिकालाई उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको थियो।
इलाका प्रहरी कार्यालय दुहबीका प्रमुख प्रहरी निरीक्षक बुद्धिकुमार चौलागाइँका अनुसार मादक पदार्थ सेवन गरी बुवा अर्जुनले छोरीलाई जबरजस्ती तरकारी बालीमा प्रयोग हुने विषादी खुवाएका थिए। स्थानीयका अनुसार घरमा कुटपिट हुने डरले राधिका साथीको घरमा जाने गरेकी थिइन्।
बुवाको डरले साथीको घरमा बस्न गएकै निहुँमा राधिकाको ज्यान गएको हो। ‘बिहे गर्ने उमेरकी छोरी अर्काको घरमा गएर बसेर मेरो बेइज्जत गर्ने’ भन्दै उनले छोरीलाई विष खुवाएको प्रहरी भनाइ छ।