काठमाडौं । विवाहित नारीको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्डका लागि आवेदन खुला गरिएको छ ।
मिसेस नेपाल वर्ल्डको यो वर्षको प्रतियोगिताका लागि आवेदन खुला गरिएको आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले जानकारी दिए ।
मिसेस नेपाल वर्ल्डको बिजेताले अमेरिकामा हुने मिसेस वर्ल्डमा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गर्नेछिन्। मिसेस नेपाल वर्ल्डसँगै सोही स्टेजमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता पनि चयन गरिने समेत उनले जानकारी गराए।
यी तीनै उपाधिको प्रतियोगिताका लागि आगामी भाद्र १६ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा अडिसन हुने आयोजकले जनाएका छन्। प्रतियोगिताका लागि आवेदन खल्ती एपबाट भर्न सकिनेछ भने आयोजक संस्थाको शंखमूलस्थित कार्यालय तथा नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलबाट पनि आवेदन प्राप्त गर्न सकिनेछ।
आयोजक संस्थाका अनुसार मिसेस नेपाल वर्ल्डको विजेतालाई आगामी २०२३ को अन्तिममा अमेरिकाको लसभेगासमा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर मिलाइएको छ।
त्यसै गरी मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेतालाई सिंगापुरमा हुने मिसेस इन्टरनेसनलमा सहभागिताको लागि अवसर मिलाइएको छ।
मिसेस वर्ल्डमा गत डिसेम्बरमा नेपालको तर्फबाट दिक्षा केसीले सहभागिता जनाएकी थिइन्।