काठमाडौँ । बंगलादेशी नागरिकहरुलाई काठमाडौंमा बन्धक बनाएर फिरौती असुलेको आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ।
बंगलादेशी नागरिकहरुलाई वैदेशिक रोजगारको लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने आश्वासन देखाई बन्धक बनाउने बंगलादेशी र नेपाली नागरिकहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
कार्यालयले बन्धक बनाइएका ६ जना बंगलादेशी नागरिकलाई उद्धार समेत गरेको छ । गिरोहले वैदेशिक रोजगारीमा लाने भन्दै बंगलादेशबाट नेपाल ल्याई काठमाडौंका विभिन्न स्थानहरुमा रहेका होटल तथा सेफ हाउसमा बन्धक बनाई राख्ने र परिवारसँग पैसा माग्ने गरेको थियो ।
पक्राउ पर्नेहरुमा बंगलादेश गाजिपुरका ४७ वर्षीय अमिर हुसेन, बंगलादेश बरिसालका ३७ वर्षीय एमडि मोसिउर, हरिसिद्धि ललितपुर बस्ने बंगलादेशी नागरिक ३८ वर्षीयसलिम मियाँ, सिन्धुपाल्चोक बलेफी–६ कि २७ वर्षीया तारा नेपाली, बंगलादेशी नागरिक २१ वर्षीय जहाङ्गीर आलम, काठमाडौं हाडिगाउँ बस्ने बंगलादेशी नागरिक २१ वर्षीय तहमिना बेगम र इलाम चुलाचुली–४ कि ३३ वर्षीया रोशनी राई रहेका छन् ।
पीडितहरुमध्ये कालिमाटीडोलमा रहेको मेमोरियल गेष्ट हाउसबाट एमडि नाजमुल, एमडि इयासिन, इब्राहिम हुसैन र एमडि अल अमिनलाई उद्धार गरिएको छ । त्यस्तै हरिसिद्धिको एक घरमा बन्धक बनाइराखेको अवस्थामा राजोन र राजोन फरहाद हुसैनलाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।