काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका १२ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयको बिहीबार बसेको बढुवा सिफारिस समितिले १२ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुनेहरुमा एसपी राजेश उप्रेती, गंगाराम श्रेष्ठ, रविराज कर्णजीत, भरत खनियाँ, नेत्रबहादुर कार्की, रमेशकुमार पाण्डे, विकास घिमिरे, तीर्थराज पौडेल, जहर सिंह बुढा मगर, नरेन्द्र बम, सूर्यबहादुर सेन ओली र तेजप्रसाद पोखरेल छन् ।
नाम सिफारिस हुने सबै सिलसिलेवार संख्या २ का सशस्त्र प्रहरी उपरीक्षक रहेका छन्।
उनीहरु २०७५ चैत १५ गते सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा भएका थिए।
त्यही सिलसिलेवार संख्याको दोश्रो टोली २०७७ जेठ ५ गते एसपी बढुवा भएको थियो। बिहीबार बढुवा सिफारिस भएका सबै पहिलो चरणमा बढुवा भएका मात्रै परेका छन्।
उक्त समूहका १५ जना यसअघि नै एसएसपी भइसकेका छन्। बाँकी १९ मध्ये बिहीबार १२ जनाको नाम बढुवामा सिफारिस भएको हो।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सरुवा बढुवा लगायतमा सुधार गर्दै पारदर्शीता अपनाउने कोसिस गरेका छन्।
साउनमा मात्रै एसएसपीदेखि सहायक हवल्दारसम्म ६ हजार भन्दा बढी कर्मचारीको एकैपटक बढुवा भएको छ।
यस पटक ओएण्डएम नभएको भए जम्मा ४ जनामात्रै एसएसपीमा बढुवा हुने अवस्था थियो। डिएसपी र एसपी बढुवाका लागि अझ ४ वा ५ वर्ष कुर्नुपर्ने थियो।
महानिरीक्षक अर्यालले उक्त समस्या समाधान गर्न पहल गरेपछि बढुवाको जाम हटेको हो।
संगठनको इतिहासमा नै यस प्रकारको बढुवा पहिलो पटक भएको हो।
सशस्त्र प्रहरीमा वर्षौदेखि रहेको बृत्तिबिकासको समस्या समाधान गर्न केही समयअघि संगठन सर्वेक्षण तथा व्यवस्थापनमार्फत केही दरबन्दी थप र केही पदहरु समायोजन भएका थिए।
यो क्रमसँगै १७ वर्षदेखि एउटै दर्जामा रहेका अधिकृत एकै पटक बढुवा हुने भएका छन्। बढुवाको समस्या पनि लगभग अन्त्य भएको छ।
हाल भएका सबै दर्जाको बढुवामासमेत बाहिरी प्रभाव लगभग शून्य भएको छ।
कार्यसम्पादन मूल्यांकन, जेष्ठता, व्यावसायिक क्षमतालगायत नियमावलीमा उल्लेख बढुवासम्बन्धी आधारलाई ख्याल गरिएको सशस्त्र प्रहीले जनाएको छ।