काठमाडौं । वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनमा नेपालले प्रभावकारी तवरबाट काम गर्र्न नसकेको बताएका छन्।
शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा वनमन्त्री महतोले कानन, योजना नभएका कारण जलवायु परिवर्तनमा नेपालले राम्रोसँग काम गर्न नसकेको बताएका हुन्।
‘जलवायु परीवर्तनमा नेपालले त्यती राम्रोसँग काम गरेको अवस्था छैन। न हामीसँग नियम कानुन छ, न हामीसँग योजना छ। न हामीसँग रोडम्याप छ। यस बारेमा हामी प्रवेश गर्न सकिरहेका छैनौँ। नियम कानून बनाउन अफ्ठ्यारो र विभिन्न मन्त्रालयसँग जोडिएकाले अन्तरमन्त्रालय समन्वय हुन सकिरहेको छैन,’ उनले भने, ‘अर्थ मन्त्रालयले विदेशी सहायता नमिल्ने तरीकाले लिइरहेको छ। टुक्रे टुक्रे बजेट ल्याउने र, उसले दिएको कन्डिसन अनुसार काम गर्नुपर्ने। हामीले कार्वनमा काम गरेको एकरदुई वर्ष भयो। तर, कार्बनमा काम गर्ने न हामीसँग कुनै मेकानिजम छ।’
उनले अन्तर मन्त्रालय समन्वय नहुँदा पनि जलवायु परिवर्तनको क्षेत्रमा काम गर्न अफ्ठ्यारो भइरहेको बताउँदै कार्बनमा काम गर्ने कुनै संयन्त्र नै नभएको पनि बताए।
‘हामीसँग मेनपावर छ। न हामीसँग कुनै टेक्निक छ। न हामीसँग कुनै प्रयोगशाला छ। हामी जस्तो देशले कार्वनमा प्रोफीट लिन सक्नुपर्छ। हामीले अन्तर्राष्ट्रिय सम्मेलनमा उनीहरुले जे भन्छन् जान्ने भएर हस्ताक्षर गरेर आउँछौं,’ उनले भने, ‘हामी आफ्नो देशको बारेमा सोच्दैनौं। त्यो हस्ताक्षर गरेर आइसकेपछि ४५ प्रतिशत बन पुर्याउनुपर्ने, ५० प्रतिशत वन पुर्याउनुपर्ने, ६० प्रतिशत पुर्याउनुपर्ने भनिएको हुन्छ। त्यसवापत् हामीले के पाउने तरु पाउने कुरामा हामीले छोडिरहेका हुन्छौँ।’
उनले जलवायु, वातावरण लगायतसँग सम्बन्धित अन्तर्राष्ट्रिय सम्मेलनमा बुझ्दै नबुझीकन हस्ताक्षर गर्दा समस्या सिर्जना भएको बताउँदै जंगली जनावरको संख्या बढाएपनि यसको संरक्षणमा चुनौती खडा भएको बताए।
मन्त्री महतोले बाघको संख्या उल्लेख्य बढाएपनि संरक्षण गर्न ठूलो चुनौती देखिएको बताए।
‘मुख्य समस्या भनेकै प्रतिवद्धतामाथी प्रतिवद्धता गरेर हो। जंगलमा भएको जनावर र मानिसचिवको जुन द्वन्द्व छ, अहिले प्रश्न के उठ्न थालेको छ भने मान्छे ठूलो की जनावर ठूलो। हामीले कसलाई प्राथमिकता दिने। जनावरले मान्छे मार्यो भने ठिक छ तर, मान्छेले जनावर मारेपछि जिन्दगीभरी जेलमा बस्नुपर्छ,’ उनले भने, ‘वन ऐनले त जनावर ठूलो भनेको छ। बाघको संख्या त बढायौं तर, त्यसको संरक्षण गर्न ठूलो चुनौती छ। हरेक एक दुई महिनामा घटनाहरू आइरहेका छन्, हात्तीकै घटनाहरु आइरहेको छ, बाँदरको घटना आइरहेको छ। तर, नेपालले अन्तर्राष्ट्रिय प्रतिवद्धता गरेको गर्यै छ। न सर्पलाई मार्न पाउने न बाँदरलाई मार्न पाउने भनेर प्रतिवद्धता गरेर आएका छौं। हामीले के गर्ने के नगर्ने हाम्रो स्वायत्तताको कुरा हो।’
अहिले विदेशीले भनेको कुरामा हस्ताक्षर गर्दा जंगलमा भएको जनावर र मानिसबीच द्वन्द्वको अवस्था सृजना भएको बताए।