काठमाडौं,०४ भदाै । एसिया कप क्रिकेटका लागि भारतले आफ्नो टिम घोषणा गरेको छ । टिमका प्रमुख छनोटकर्ता अजित अगरकरले सोमबार रोहित शर्माको कप्तानीमा भारतीय टिमको घोषणा गरेका हुन् ।
टिममा जसप्रित बुमराह र केएल राहुल पनि फर्किएका छन् । बुमराह आयरल्याण्डमा टि–ट्वान्टी सिरिज खेलिरहेको भारतीय टिमको कप्तानी गरिरहेका छन् । बुमराह लामो समयपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका हुन् । यस्तै आईपीएलमा चोटका कारण लामो समय आराम गरेका राहुल पनि हाल खेलका लागि तयार भएका हुन् । साथै श्रेयस अय्यर पनि चोटका कारण लामो समय टिमबाहिर थिए ।
टिममा जम्मा १७ जना खेलाडी छानिएको प्रमुख छनोटकर्ता अगरकरले बताएका छन् । जसअनुसार शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, सूर्यकुमार यादव, तिलक वर्मा, केएल राहुल, इशान किशन, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, जसप्रित बुमराह, मोहम्मद शामी, मोहम्मद सिराज, प्रसिद्ध कृष्णा र सन्जु सेमसन भारतीय टोलीमा छन् । एसिया कपका लागि भारतीय टोलीको कप्तानी रोहित शर्माले गर्नेछन् । हार्दिक पाण्डेय भने उपकप्तान छन् ।
अगस्ट ३० मा सुरु हुने एसिया कप अन्तर्गत भारतको पहिलो खेल पाकिस्तानसँग हुनेछ । सेप्टेम्बर २ मा हुने भारत–पाकिस्तानको उक्त खेललाई निकै महत्त्वका साथ हेरिएको छ ।
एसिया कपमा भारत र पाकिस्तानसँगै श्रीलंका, अफगानिस्तान, बंगलादेश र नेपालले प्रतिस्पर्धा गर्नेछन् । वान डे क्रिकेटमा १७ सतकसहित ६ हजारभन्दा धेरै रनका बनाएका धवन भने एसिया कपका लागि भारतीय टिममा परेका छैनन् । कप्तान रोहितका सशक्त साझेदार मानिएका धवनको सट्टामा यसपटक इशान किशन र शुभमन गिलले रोहितलाई साथ दिनसक्ने देखिएको छ ।
नेपालले भने एसिया कपका लागि रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले गत साता राष्ट्रिय टोलीको घोषणा गरेको हो ।