बाराको चुरियामाईमा बिहीबार बिहान भएकाे बस दुर्घटनामा चालकले रक्सी सेवन गरेको घाइतेहरूकाे भनाइ रहेकाे छ ।
घाइते धरम सिंहले राती होटेलमा खाने खाने क्रममा ड्राइभरले रक्सी खाएको उनले प्रहरीलाई बताएका छन् ।
होटेलमा मदिरा सेवनपछि ड्राइभरले बस द्रुतगतिमा चलाएको र चुरियामाई मन्दिर ओरालोमा आएपछि आफू हाम फालेर भागेको घाइते सिंहले बताए । उनका अनुरसार सवारी चालको लापरबाहीले दुर्घटना भएको हाे ।
दुर्घटनापछि फरार रहेका चालकलाई प्रहरीले धनुषाबाट नियन्त्रणमा लिएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।
दुर्घटनामा एक नेपालीसहित सात जनाले ज्यान गुमाएका छन् भने अन्य १७ जना घाइते भएका छन् ।
दुर्घटनामा अधिकांश भारतीय तीर्थयात्री सवार रहेका थिए । मधेस प्रदेश ०३-००१ ख ७९९४ नम्बरको बस काठमाडौँबाट जनकपुर तर्फ जाने क्रममा शुक्रवार बिहान करिब २:३० बजे बाराको जितपुरसिमरा उपमहानगरपालिका –२२ चुरियामाई मन्दिर नजिकै दुर्घटना भएको थियो ।
मृतक सबैको सनाखत
प्रहरी उपरीक्षक रिजालका अनुसार मृत्यु हुनेमा भारतको राजस्थानका ६७ वर्षका बहादुर सिंह, सोही स्थानकी ६५ वर्षीया मीरा देवी, बैजन्ती देवी, श्रीकान्त चतुर्वेदी, सत्यवती र राजेन्द्र चतुर्वेदी रहेका छन् ।
यस्तै, नेपालको महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकाका ४१ वर्षका विजयलाल पण्डितको पनि मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १७ जनामध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक रिजालले जानकारी दिए ।
उनका अनुसार घाइते एकजनालाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको छ । यस्तै, एकजनाको हेटौँडास्थित चुरेहिल अस्पताल, एकजना सन्चो अस्पताल र बाँकी १४ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।