जनकपुर,२२ भदाै । अर्थमन्त्री डा. प्रकाशशरण महतले तेस्रो मुलुकसँग व्यापारिक सम्बन्ध विस्तार गर्न महोत्तरीको जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गर्न आफू सकारात्मक रहेको बताएका छन्।
काठमाडौंमा शुक्रबार जनकपुरधाम उद्योग वाणिज्य संघको ध्यानाकर्षण पत्र बुझ्नुहुँदै अर्थमन्त्री डा. महतले तेस्रो मुलुकमा सामान आयात निर्यात गर्न गर्नुपर्ने तयारी र अहिलेको अवस्थाका बारेमा थप जानकारी लिएर सोसम्बन्धी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जाहेर गर्नुभएको संघका अध्यक्ष जीतेन्द्रकुमार महासेठले बताए।
जलेश्वर भन्सार कार्यालयलाई अविलम्ब मुख्य भन्सार कार्यालयमा स्तरोन्नति गर्न नेपाल-भारत दुवैतर्फ आवश्यक पूर्वाधार तयार रहेका बारेमा अर्थमन्त्रीलाई जानकारी गराइएको र जवाफमा सम्बद्ध निकायसँग थप छलफल गरी आवश्यक काम गर्ने प्रतिबद्धता जाहेर भएको अर्थमन्त्रीलाई उद्धृत गर्दै महासेठले बताए ।
‘अर्थमन्त्रीज्यूसँग जलेश्वर भन्सार नाकाको स्तरोन्नति, मधेसका व्यापारी व्यवसायीका समस्या, प्रदेश राजधानी जनकपुरमा चलिरहेको रेलबाट लिन सकिने व्यापारिक लाभका विषयमा समेत कुराकानी भएको छ’, महासेठले भने, ‘यस विषयमा फेरि दुवै पक्ष छलफलमा जुट्ने समझदारी छ। आशा छ उहाँले निजी क्षेत्रका चिन्ता, चासो र मधेसमा व्यापारिक गतिविधि बढाउन आवश्यक कार्य गर्न सहयोग गर्नुहुनेछ।’
संघका महासचिव मनोजकुमार सिंहले हाल तेस्रो मुलकबाट आउने मालसामान मधेसका लागि बीरगन्जमार्फत आउने भए पनि यातायातको दूरी बढी भएका कारण ढुवानी लागत बढ्न गई मालसामानको मूल्यसमेत बढ्न गएकाले जलेश्वर उत्तम विकल्प भएका बारेमा जानकारी गराएको बताए।
‘हाल भारतस्थित पश्चिम बङ्गालको हलदिया बन्दरगाहबाट बीरगन्ज हुँदै काठमाडौँसम्म मालसामान लैजाँदा एक हजार एक सय १९ किमी दूरी पार गर्नुपर्नेमा जलेश्वरबाट आउँदा झण्डै दुई सय ५० किमी दूरी कम हुनेछ’, महासचिव साहले भने ।
संघले बुझाएको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘जलेश्वर भन्सार नाकाबाट रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, गाईघाट, उदयपुर, रामेछाप, दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर, काठमाडौँसम्म मालसामान पठाउँदा मूल्यमा अत्यधिक कमी आउनेसक्ने हुनाले महोत्तरीको जलेश्वर भन्सार कार्यालयलाई तेस्रो मुलुकबाट आउने मालसामान आयातनिर्यात गर्ने मुख्य नाकाका रुपमा स्थापित गरिदिन अनुरोध छ।’
यसका साथै मधेस प्रदेशको राजधानी जनकपुरधाममा रेल्वसेवा सञ्चालन भइरहेकाले त्यसबाट अधिकतम लाभ लिनेगरी जनकपुर भन्सार कार्यालय तथा जटही भन्सार कार्यालयको स्तरोन्नतिका लागि ध्यानाकर्षण गराइएको संघका अध्यक्ष महासेठले बताए।