काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गरिने बताएका छन्। आज सिंहदरबारमा आयोजित लगानी बोर्डको १२औं वार्षिकोत्सवमा बोल्दै मन्त्री महतले विश्व बजारमा सूचना प्रविधि क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीको लगानी नेपालमा भित्र्याउने गरी शिखर सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए। पछिल्लो समय नेपालमा आर्थिक वृद्धिका राम्रा संकेत देखिएको मुलुकको आर्थिक गतिविधिले बढावा पाउने विश्वास रहेको उनको भनाइ छ।
‘नेपालमा लगानी गर्ने र त्यसको बजार विदेशमा समेत प्राप्त गर्ने सम्भावना त्यसले दिएको छ। अहिले आईटी सेक्टर बृहत् सम्भावनाको क्षेत्र भएको छ। विदेशमा स्थापित आईटी सेक्टरका कम्पनीलाई नेपालमा ल्याउन सक्नुपर्छ। अब लगानी सम्मेलन गर्न गृहकार्य थाल्छौं, जुन कुरा बजेटमा बोलेका छौं।’
नेपालमा पर्यटन, कृषि, जलविद्युत् र सूचना प्रविधिको क्षेत्रमा लगानी बढने र बजारको पनि राम्रो व्यवस्था भएकाले यस क्षेत्रमा बाह्य लगानी भित्रिने अर्थमन्त्री महतले बताए। उनले भारतमा १० हजार मेगावाट विद्युत् १० वर्षमा खरिद गर्ने सम्झौता भएको र चीनमा पनि सरकारले सोही खाले सम्झौतालाई अब छिट्टै अघि बढाइने जानकारी दिए।
‘हाइड्रोपावरमा एउटा प्रगतिले लय पक्रिएको छ। इन्डियासँग १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत् खरिद गर्ने सम्झौताले सुनिश्चित बजार प्रदान गरेको छ। चीनसँग पनि आगामी दिनमा यस्तै सम्झौता हुने विश्वासमा छौं।’ नेपालमा बाह्य लगानी भित्रउन बोर्डले थप प्रभावकारी पहल गर्नुपर्ने उनले सुझाए ।