काठमाडौंको भक्तपुर बाल सुधार गृहबाट आएका किशोरहरुलाई बाहिर निकालिएपछि बीरगन्ज बिर्ता स्थित बाल सुधार गृहको बिवाद साम्य भएको छ । उनीहरुले बाल सुधार गृहमा व्यापक भ्रष्टाचार भइरहेको एवं सरकारले दिएको सेवा सुबिधाहरु प्राप्त नहुने गरेको बताएका छन् । उनीहरु सुधार गृहका सरकारी कर्मचारीहरुले सुधार गृहमा व्यापक आर्थिक हिनामिना गरेको एवं सुधार गृहमा रहेकाहरुलाई चरम यातना दिने गरेको बताएका छन् ।
मंगलवार रातभरी तनावग्रस्त बनेको सुधार गृह केन्द्र एवं आसपासको क्षेत्र आज दिउँसो सम्म पनि तनावग्रस्त नै बनी रहेको थियो । सुरक्षाकर्मीहरुले स्थितीलाई नियन्त्रणमा लिनका लागि कयौं रावण्ड हवाई फायरिङ्ग एवं आश्रु ग्यासहरु प्रहार गरेको भएपनि स्थितीलाई नियन्त्रणमा लिन सकेको थिएन् । पत्रकारहरुसँगको कुराकानीमा बाल गृहका किशोरहरु स्थानिय प्रशासनले केहि सर्तहरु माने बार्ता गर्न तयार रहेको बताएपछि बार्ताको लागि पत्रकारहरुले पनि सहिजिकरण गरेका थिए ।
बाल सुधार गृहकै गेट अगाडि बुधबार अपरान्ह स्थानीय प्रशासन र प्रदर्शनकारी बालकैदीहरुबिच बुधबार अपरान्ह ४ बजे वार्ता भएको थियो । वार्तामा भएको सहमति अनुसार प्रहरीले भक्तपुरको बालसुधार गृहबाटबाट ल्याएर राखिएका १८ जना बाल कैदीहरुलाई निकालेर जिल्ला प्रहरी कार्यालयमा लगेपछि मंगलबार रातिदेखि तनावग्रस्त बनेको बाल सुधार गृहको अवस्था साम्य भएको हो ।
प्रमुख काफलेले मंगलबारराति देखि बालकैदीहरुले तोडफोडसहित गरेको प्रदर्शनका क्रममा सुधार गृहमा झन्डै एक करोड रुपैयाँ बराबरको क्षतिपनि भएको बताए । क्षतिको विस्तृत विवरण नआएपनि झन्डै एक करोड रुपैयाँ बराबरको अनुमानित क्षति भएको उनले बताए ।
वार्तामा वीरगन्ज बाल सुधार गृहमा मंगलबार राति देखि तोडफोड र ढुङ्गामुढा गर्दै प्रदर्शनमा उत्रिएका मध्ये २० जना बालकैदी, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी , प्रहरी उपरीक्षक शाह , सशस्त्र प्रहरी उपरीक्षक सुमन बज्राचार्य , वीरगन्ज महानगरपालिका अन्तर्गतको बाल कल्याण गृहकी प्रमुख साबित्री भण्डारी,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, मानवअधिकारकर्मीको सहभागीता थियो ।
पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बाल सुधार गृहमा रहेका कमी कमजोरीलाई यथासिघ्र सुधार गर्न पहल गर्ने छलफलको क्रममा सहमती गरेका छन् । महिनाको प्रत्येक २७ गते सुधार गृहका किशोरहरु एवं कर्मचारीहरुसँग वस्ने र सबै कुराहरु पारदर्शी तरिकाले काम गर्न गराउँन पहल गर्ने सहमती अधिकारीहरुले जनाएका छन् । सुधार गृहका किशोरहरुको कुरा सन्दा उनीहरु निकै कष्टकर जीवन बिताउन बाध्य रहेको देखिएको बार्तामा सहभागी पत्रकार मानव अधिकारकर्मीले बताएका छन् ।
बाल सुधार गृहका युवाहरुले बार्ताको क्रममा आफुहरुले उठाएका कुराहरु लागु नभए फेरी आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरु बार्ता सफल भएको र आफ्नो मागहरु स्थानिय प्रशासनले पुरा गर्नेमा आशावादी रहेको बताएका छन् ।