जनकपुर,१७ असाेज । तराईका जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव विथोल्ने संकेतहरु देखा परेको भन्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सुरक्षा चुनौतीको रिपोर्टिङ लिन मधेस प्रदेश पुगेका छन्।
गृहमन्त्री श्रेष्ठले महत्तरीको बर्दिबासमा आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई बोलाएका छन्। बर्दिबासमा जारी छलफलमा अहिले प्रमुख जिल्ला अधिकारीहरुले आ–आफ्नो जिल्लाको सुरक्षा चुनौतीका बारेमा गृहमन्त्रीलाई ब्रिफिङ गरिरहेका छन्।
प्रमुख जिल्ला अधिकारीहरुको रिपोर्टिङपछि सुरक्षा निकायका प्रमुखहरुले रिपोर्टिङ गर्नेछन्। सुरक्षा निकायका प्रमुखहरूको रिपोर्टिङ सुनेपछि उपप्रधानमन्त्री श्रेष्ठले आवश्यक सुझाव र निर्देशन दिने जनाइएको छ।
प्रमुख जिल्ला अधिकारीहरूले प्रदेशका कतिपय ठाउँमा धार्मिक सद्भाव बिथोल्ने तत्वहरू सक्रिय रहेको, मिटरब्याज नियन्त्रण कानुन र आयोग बने पनि त्यसलाई निरुपण गर्ने सन्दर्भमा वाधाव्यवधान खडा गर्न खोजिएको रिपोर्टिङ गरेका छन्।
प्रदेशका कतिपय पालिकाका जनप्रतिनिधिहरूको बेमेलले समेत सुरक्षा चुनौती खडा गरेको, सामाजिक संजालमा आउने कतिपय सामाग्रीले उत्तेजना निर्माण गर्न खोजेको लगायतका समस्याबारे प्रमुख जिल्ला अधिकारीहरुले रिपोर्टिङ गरेका छन्।
भारतमा चुनाव नजिकिएकाले सीमा क्षेत्रमा तनाव बढ्न सक्ने तथा अवैध ओसारपसार र भारतीय गाडीको प्रयोगले समेत सुरक्षा व्यवधान खडा गर्न सक्ने उनीहरूको भनाइ छ।
गृह मन्त्रालयका सचिव तथा प्रवक्ता, नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेना मधेस प्रदेश प्रमुख लगायतका पदाधिकारीहरु बैठकमा सहभागी छन्।