बीरगन्ज,२९ कार्तिक – तराईमा गोबर्धनपुजा रौनक आज देखिएको छ । गोबर्धन पुजा सकिएसँगै मधेशमा जिल्लामा छठको रौनक शुरु भएको छ । छठपर्व नजिकिँदै गएपछिबीरगन्जको विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेषरूपमा श्रृङ्गारिने काम भइरहेको छ ।
बीरगन्जको रानीघाट,नगवा छपकैया,गडिअर्वा पोखरी लगयातको ताल तथा जलाशयहरुलाई सरसफाई गर्ने एवं शृगार्ने कार्य तिव्रगतिमा भइरहेको छ । प्रत्येक वर्ष छठ मनाउनेको सङ्ख्यमा वृद्धि भइरहेकाले छठपर्वका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा निकै भीड देखिन थालेको छ ।
विगतभन्दा यस वर्ष छठपर्वमा आवश्यक सामानको मूल्य निकै वृद्धि भएको स्थानीयले बताएका छन्। यस वर्ष मङ्सिर ३ गते षष्ठीको दिन विधिपूर्वक साँझको अर्घ्य दिने भए पनि यसको मुख्य विधि तीन दिनअगावैदेखि निष्ठापूर्वक सुरू हुन्छन् म
अहिले गाउँगाउँ घरघरमा छठपर्वका गीत गुन्जिने गरेको पाइन्छ। सूर्यषष्टी अर्थात छठपर्व प्रारम्भ हुनेछन्। छठको पहिलो दिन बर्तालु नहायखाय गरी छठपर्व आरम्भ गर्छन्। दोस्रो दिन खरना विधि गरिन्छ। खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ। खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर बर्तालु दिनभरि उपवास बस्ने गर्छन्।
बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर, दूध र चामलको खीर पकाइन्छ। यस्तो खीर केराको पातमा राखेर छठिमातालाई चढाइन्छ र चढाइसकेपछि बर्तालुले प्रसादका रूपमा ग्रहण गर्ने गर्छन्। यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रूपमा ग्रहण गर्ने चलन रहेको पण्डित रामकुमार शास्त्रीले बताए।
अर्को दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन बर्तालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अघ्र्य दिएर व्रत समाप्त हुन्छ। पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठपर्वका अवसरमा भीड लाग्ने गर्दछ। सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास रहेको छ।