बारा,१८ मंसिर । बाराको सिमरा विमानस्थलमा हवाइ इन्धनको रिफ्युलिङ सेन्टर संचालनमा आएपछि मुलुकको आन्तरिक उडान थप व्यवस्थित बन्ने भएको छ ।
त्रिभुवन अन्तराष्टिय विमानस्थल काठमाण्डौमा हुने हवाइ चाप तथा खराब मौसमका कारण घण्टौ आकाशमै होल्ड गर्नु पर्ने अवस्था आउँदा आन्तरिक विमानले मार्ग परिवर्तन तथा इन्धन खपत र पुर्ति गर्न सिमरा विमानस्थललाई प्रयोग गर्न सक्ने भएसंगै नेपालको आन्तरिक उडान थप व्यवस्थित बनेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबैभन्दा नजिक रहेको सिमरा विमानस्थलमा भैरहवा र विराटनगरबाट उडेका विमानले मार्ग परिवर्तन गर्नुपर्ने अवस्थामा अब रिफ्युलिङ सेन्टरका कारण सिमरामा अवतरण गर्न सक्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
आन्तरिक उडान तर्फका विमानहरु एयर ट्राफिक, खराब मौसम लगायतका प्राविधिक कारण काठमाण्डौको आकासमा घण्टौ उडिरहनु पर्ने हुँदा इन्धनको बढ्दो प्रयोग घटाउन सिमरा विमानस्थलमा रिफ्युलिङ सेन्टर सञ्चालनमा ल्याएको आयल निगमका कार्यकारी निर्देशक उमेश थामीले बताए ।
करीब १५ मिनेट समय लाग्ने सिमरा–काठमाण्डौ हवाइ यात्रामा रिफ्युलिङ सेन्टर सञ्चालनमा आएपछि हवाइ यात्राको कनेक्टिभिटी र पहुँच बलियो बन्ने हुँदा उड्डयन उद्योग तथा हवाइ यात्रु दुवैलाई फाइदा पुग्ने बताइएको छ ।
उक्त रिफ्युलिङ सेन्टरको उद्घाटन आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले गर्नुभएको थियो ।