बीरगन्ज,२१ मंसिर । बारा जिल्लाकाे सिम्रौनगढ नगरपालिकामा सम्पूर्ण सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ । शिक्षकहरुले ४ देखि १४ महिनासम्मको तलब सुविधा नपाएपछि बिहीबारदेखि नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको हो ।
यसअघि सेवा सुविधाको माग गर्दै शिक्षक तथा कर्मचारी दुई महिनादेखि नगरपालिकाको मूलगेटमा धर्ना बस्दै आएका थिए । तर शिक्षकहरुको आन्दोलनलाई नगरपालिकाले चासो नदेखाएपछि पठनपाठन ठप्प पार्नुपरेको नेपाल शिक्षक संघ नगर कार्यसमितिका अध्यक्ष उमाशंकर यादवले बताए ।
उनले स्थायी शिक्षकहरुले दसैँ भत्तासहित चालु आर्थिक वर्षको ४ महिनाको र करार, ज्यालादारी तथा नगर शिक्षकहरुले १४ महिनादेखि सेवा सुविधा नपाएका गुनासो गरे ।
‘हामीलाई दैनिक गुजारा चलाउन समेत धौधौ छ, पसलेहरुले रासनपानी उधारो पत्याउँदैनन्, विद्यालयमा बालबालिकाहरुको दिवा खाजा कार्यक्रम समेत २ महिनादेखि रोकिएको छ,’ उनले भने ।
शिक्षकहरुको आन्दोलनले विद्यालय बन्द हुँदा १५ हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । सिम्रौनगढ नगरपालिकाभित्र ३२ वटा सामुदायिक विद्यालयमा बालविकास, अस्थायी करार, नगर शिक्षक, विद्यालय कर्मचारी र स्थायी शिक्षक गरी १९० जना कार्यरत छन् ।
तीमध्ये स्थायी शिक्षकले चालु आर्थिक वर्षको पहिलो चौमासिकको तलब, दसैँ पेश्की पाएका छैनन् भने अन्यको हकमा गत आर्थिक वर्षको १२ महिना र चालु आर्थिक वर्षको ४ महिनाको सेवा सुविधा बाँकी छ ।
चालु आर्थिक वर्षको पहिलो चौमासिक बितिसक्दा पनि नगरपालिकाको खाता सञ्चालनमा आएको छैन । नगरप्रमुख र वडाध्यक्षहरु बिचको आन्तरिक द्वन्द्वका कारण कानुनी रुपमा नगरसभा सम्पन्न भएको छैन । नगरपालिकाभित्रको आन्तरिक द्वन्द्वका कारण शिक्षकमात्रै होइन, कर्मचारी, नगर अस्पतालका स्वाथ्यकर्मीले समेत तलब सुविधा पाएका छैनन् ।
शिक्षक आन्दोलनका कारण विद्यालयहरुमा पठनपाठन ठप्प भएपछि बिहीबार बिहान नगरप्रमुख कलवार मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई भेट्न जनकपुर गएका छन् । नगर शिक्षक संघका अध्यक्ष उमाशंकर यादवले नगरप्रमुखले शिक्षकहरुलाई वार्तामा बोलाएर आफू भने मुख्यमन्त्री भेट्न जनकपुर गएको बताए ।