घाटामा रहेको राष्ट्रिय ढुकुटीको चाबी बोकेर अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो ६ महिनामा ७ पटक विदेश भ्रमण गरेका छन् ।
सरकारी हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयको पछिल्लो तथ्यांकअनुसार लक्ष्यभन्दा निकै कम राजस्व असुली भएको छ । चालू आर्थिक वर्षको सातौं महिनासम्म आइपुग्दा २० प्रतिशत पनि पूँजीगत खर्च हुन सकेको छैन । सरकारको ढुकुटी रित्तो मात्र होइन, ऋणात्मक छ ।
महालेखा नियन्त्रकको मंगलवारसम्मको तथ्यांकले देशको ढुकुटी ९० अर्ब ७ करोडले घाटामा रहेको देखाउँछ । आर्थिक वर्षको सातौं महिनामा सरकारको आय लक्ष्यको जम्मा ३५ दशमलव ७१ मात्र छ ।
पूँजीगत खर्च चर्चा गर्न योग्य पनि छैन, अर्थात लक्ष्यको १८ प्रतिशत पनि छैन ।
अर्थतन्त्रका सबै सूचक सकारात्मक रहेको गफ हान्दै अर्थमन्त्री डा. महत भने विदेश भ्रमणमै रमाइरहेका छन् । ‘६ महिनामा गरिएको ७ वटा विदेश भ्रमणको उपलब्धि के भयो त ?’ यो प्रश्नको जवाफमा मन्त्रालयका एक उपसचिवले प्रतिप्रश्न गर्दै भने, ‘यो उहाँबाहेक कसैलाई थाहा छैन । मन्त्रीले देशको उपलब्धिका लागि विदेश भ्रमण गर्छन्, जस्तो लाग्छ तपाईंलाई ?’
मन्त्रीको कार्यशैलीसँग वाक्क भएका ती उपसचिवको प्रश्न हाँसोलाग्दो त छ नै सँगसँगै देशको दयनीय अवस्थामाथि अर्थमन्त्रीले गरेको ‘मजाक’ पनि झल्किन्छ ।
विदेश भ्रमणको सिलसिला
नयाँ वर्ष २०८० लागेपछि मन्त्री महतको भ्रमण सिलसिला शुरू हुन्छ, जेठ १७ गतेबाट । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै २० गतेसम्म भारत भ्रमणमा गएका थिए ।
डेढ महिनापछि उनी पुनः भारत गए । असार ३१ गते उनले सहसचिव श्रीकृष्ण नेपाल र उपसचिव युगराज पाण्डेलाई लिएर ४ दिनका लागि भारत भ्रमण गरेका थिए । जी- २० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा भाग लिन अर्थमन्त्री भारत गएका थिए ।
यो वर्षको तेस्रो विदेश भ्रमणका दौरान उनले भदौ ३ गते क्यानडा यात्रा गरे । एक साताका लागि बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री, अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल, वन तथा वातावरण मन्त्रालयका उपसचिव ज्ञानेन्द्रकुमार मिश्र र उपसचिव तथा आफ्ना निजी सचिव युगराज पाण्डेलाई लिएर मन्त्री महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को सातौं सभामा भाग लिन त्यहाँ पुगेका थिए । उनी दिल्ली हुँदै १० गते नेपाल ओर्लिएका थिए ।
चौथो देशका रूपमा असोज ५ गते इजिप्ट यात्रामा निस्किएका मन्त्री महत एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी)को वार्षिक बैठकमा सहभागी भए । उनले एआईआईबीको गभर्नरको हैसियतमा बैठकमा सहभागिता जनाएका थिए ।
उनीसँगै राजस्व सचिव रामप्रसाद घिमिरे र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका उपसचिव कञ्चन बस्नेत भ्रमणमा सहभागी थिए ।
यो वर्षको पाचौं भ्रमणका क्रममा मन्त्री महत मोरक्को पुगे । त्यहाँ विश्व आर्थिक दृष्टिकोण, विश्वव्यापी वित्तीय स्थायित्व, गरिबी उन्मूलन, समावेशी आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत विषयमा छलफल भएको दाबी महतले गरेका थिए । उनी असोजको २२ गते मोरक्को पुगेर ६ दिनपछि नेपाल फर्किए ।
मोरक्कोबाट फर्किएको १५ दिनमै उनी कात्तिक १० गते बेलायत उडे ।
बेलायतका ट्रेजरी लर्डस्मन्त्री बारोनेस पेनसँग भेट गरेका मन्त्री महतले बेलायतका तर्फबाट नेपालको नवीकरणीय ऊर्जामा लगानीका लागि आग्रह गरेको समाचार आएका थिए ।
महत सातौं विश्व भ्रमणका क्रममा तेस्रोपटक भारत पुगे । पुस २४ गते भारततिर लागेका उनले पुस २५ देखि २७ गतेसम्म गुजरातस्थित गान्धीनगरमा भएको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’मा नेपालको प्रतिनिधित्व गरे । त्यहाँ मन्त्री महतले भारतीय उद्योगीहरूसँग भेटघाट गरे र वैशाखको तेस्रो साता नेपालमा आयोजना गर्न लागिएको तेस्रो लगानी सम्मेलनमा निम्तो दिए ।
नेपालबाट बहुराष्ट्रिय कम्पनीहरू धमाधम बाहिरिने सिलसिला चलिरहेका बेला महतो यस्तो निम्तोलाई विदेशी लगानीकर्ताले कुन रूपमा हेर्लान्, त्यो छुट्टै विषय छ ।
नेपालमै पनि कामभन्दा घुमघाम बढी
गत माघ १ गते उनी आफ्नो गृहजिल्ला नुवाकोटको शिवपुरी गाउँपालिकास्थित शेराबगर विकास समाजद्वारा आयोजित वृहत् गोरु जुधाइ तथा सांस्कृतिक कार्यक्रममा पुगे ।
माघ ६ मा उनी पुनः नुवाकोट पुगे । गोविन्द वियोगी पत्रकारिता पुरस्कार, २०८० बाट वरिष्ठ पत्रकार एवं राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेसहित चार जनालाई सम्मान गर्न महत ५ दिनको अन्तरालमा दोस्रोपटक नुवाकोट पुगेका थिए ।
त्यसपछि ८ गते सोमबार उनी बारा पुगे । बारा जिल्ला सुवर्ण गाउँपालिका सन्तगंजमा रहेको सिम्रौनगढ छोटी भन्सार नाकाको अवलोकन तथा निरीक्षण गरेका मन्त्री महतले भोलिपल्ट महागढीमाइ नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरे । त्यहाँ पुगेर उनले अर्थतन्त्र बिस्तारै लयमा फर्केको झुटो दाबी गरेका थिए ।
माघ १ गतेदेखि १० गतेसम्म जम्माजम्मी ३/४ दिन मात्र काठमाडौं रहेका अर्थमन्त्री महतको नेतृत्वमा अर्थतन्त्र सुधार नहुने र नयाँ बजेटको तयारी पनि पर्याप्त नहुने मन्त्रालयकै एक उपसचिवको भनाइ छ ।
उनका अनुसार पुसमा पनि मुस्किलले १० दिन मात्र मन्त्रालय छिरेका थिए मन्त्री महत ।
मन्त्रालयका सूचना अधिकारी भुपालराज शाक्यले भने अर्थतन्त्रका सबै सूचक सकारात्मक रहेको दाबी गरे । लोकान्तरसँग कुरा गर्दै उनले अर्थतन्त्र सुधारका लागि सबै उपाय अपनाएको बताए ।
मन्त्रीको स्वदेश र विदेश भ्रमणको विषयमा उनले केही कुरा गर्न चाहेनन् । ‘यो मन्त्रीज्यूको विषय हो, यसमा टिप्पणी गर्न म चाहन्नँ,’ उनले भने ।
उनको सचिवालयका एक सदस्यले अर्थमन्त्री घुम्न विदेश नगएको दाबी गरे ।
‘घुम्न होइन, कामका लागि विदेश जानुभएको हो । अर्थमन्त्री वर्ल्ड बैंकको कार्यक्रममा जान पर्दैन ? आईएमएफको कार्यक्रममा जानुपर्दैन ? गुजरात गएर नेपालको लगानी सम्मेलनका लागि उद्यमीसँग भेट्दा केको आपत्ति ?,’ ती सदस्यले भने ।
आफ्नो नाम उल्लेख नगर्न आग्रह गर्दै उनले थपे, ‘विदेशी लगानी प्रोत्साहनका लागि जाँदा किन गयो र नजाँदा पनि किन गएन भन्नु उपयुक्त होइन ।’
अर्थमन्त्रीले विदेशी लगानी ल्याउने प्रयास गर्दै विदेशमा गरेको भेटघाटलाई अन्यथा लिन नहुने उनको जिकिर छ ।