बीरगंज,१४ माघ नेकपा एकीकृत समाजवादीको राष्ट्रिय सम्मेलन आजबाट सुरु हुँदैछ । पार्टीको विधान हेरफेर लगायतका एजेण्डसहित कमलादीस्थित प्रज्ञा भवनमा अहिले बिहान ११ बजे सम्मेलन सुरु हुनेछ । सम्मेलनमा पार्टी मातहतका कमिटी तथा जिल्ला तहका कार्यकर्ताबाट विधान संशोधनका लागि आएका सुझावमाथि छलफल हुनेछ ।
यस सम्मेलनबाट पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्य योजनामा केन्द्रित रहने बैठकमा पार्टी सुदृढीकरणका साथै देशभर आधारभूत तहसम्म सङ्गठन स्थापित गर्न कार्य योजना बनाइने प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
पार्टीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । सम्मेलनले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलित नेतृत्व तथा कानुनी अस्पष्टतालाई मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोक्ने प्रवक्ता खतिवडाले बताए ।
साथै, सम्मेलने पार्टीको पदाधिकारी, केन्द्रीय कमिटीको काम, कर्तव्य तथा अधिकारको बाँडफाँट गर्ने सम्मेलनले पार्टी नेतृत्वका लागि उमेर, कार्यकाल, सङ्गठन निर्माणमा गरेको योगदानलगायतका आधारमा मापदण्ड तय गर्नेछ । सम्मेलनले मस्यौदा अनुमोदन गरेपछि त्यसैका आधारमा आगामी जेठ पहिलो सातामा पार्टीको महाधिवेशन गर्ने छ ।