वीरगन्ज । वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आफ्नी दुइटा श्रीमती भएको र अर्काको छोरी भनिएकी रुविना श्रेष्ठ आफ्नै छोरी भएको स्विकारेका छन् ।
नागरिकता सम्बन्धमा गृह मन्त्रालयबाट खटिएको टोलीले प्रमुख सिंहसँग गरेको सोधपुछको क्रममा उनले रुविना श्रेष्ठ आफ्नै छोरी भएको स्विकारेका हुन् । अर्काको छोरीलाई आफ्नो छोरी बनाई वीरगन्ज महानगरपालिकाका प्रमुख सिंहले रुविना श्रेष्ठ नाम गरेकी किशोरीलाई वंशजको आधारमा नागरिकता दिलाएको आरोप लगाउँदै जिल्ला प्रशासन पर्सा र गृह मन्त्रालयसमेतमा उजुरी परेको थियो ।
नागरिकता सम्बन्धी उजुरीमाथि छानबिन गर्न गृह मन्त्रालयका उपसचिव पुष्कर रानाको संयोजकत्वमा खटिएको टोलीले प्रमुख सिंहसँग आज सोधपुछ गरेको हो । सोही क्रममा प्रमुख सिंहले आफू रुविना श्रेष्ठको नक्कली बाबु नभई सक्कली बाबु भएको स्पष्ट पारेका हुन् । उनले आफ्नो एउटा नभई दुइटा श्रीमती भएको स्विकार्दै रुविना श्रेष्ठ कान्छी श्रीमती रिता भट्टराईबाट जन्मेकी बताएका छन् ।

गृह मन्त्रालयको टोलीले गरेको सोधपुछको क्रममा प्रमुख सिंहले रिता भट्टराई नाम गरेको आफ्नो कान्छी श्रीमती पनि भएको तर त्यो कुरा गोप्य राखेको बताएका हुन् ।
वीरगन्ज महानगरपालिका- ३ छपकैया निवासी भूपेन्द्रमान सिंह र रुक्मिणी देवी श्रेष्ठको कान्छो छोराका रूपमा २०२७ सालमा जन्मिएका राजेशमान सिंहको एक मात्रै श्रीमती अन्नपूर्णा मानन्धर भएको र उनीबाट एक मात्र छोरा अनिशमान श्रेष्ठको जन्म भएको भन्दै प्रमुख सिंहले झुटो विवरणको आधारमा रुविनाको जन्म दर्ता र नागरिकता बनाएको भन्दै उनीमाथि उजुरी परेको थियो ।