काठमाडौँ । एसीसी वुमन्स प्रिमियर कपमा नेपाली टिमले माल्दिभ्सलाई २२७ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२७ रन बनायो । याे सँगै नेपालबाट महिला क्रिकेटमा शतक हान्ने पहिलो खेलाडी बनिन् रुविना । रुबिना क्षेत्रीको शतक र पूजा महतोको अर्धशतकको मद्दतले नेपालले माल्दिभ्सविरुद्ध विशाल स्कोर बनाएको हो ।
रुबिनाले ५८ बलमा ११८ रन बनाइन् । उनले ५ छक्का र १० चौका प्रहार गरिन् । नेपाली महिला खेलाडीको यो नै उच्च स्कोर हो । यसअघि सन् २०२१ मा सीता रानामगरले कतारविरुद्धको खेलमा ८२ रन प्रहार गरेकी थिइन् ।
३६ बलमा ५९ रन बनाएकी महतोले १ छक्का र ५ चौका प्रहार गरिन् ।
नेपालले यसअघिको दुवै खेल जितिसकेको छ । समूह ‘डी’ को खेलमा नेपालले लगातार दोस्रो जित निकाल्दै चार अंकका साथ क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान आठ विकेटले पराजित गरेको थियो । माल्दिभ्स भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ ।