नेपाली कांग्रेसका महामन्त्री गगन थापाको दोस्रो चरणको ‘संवाद यात्रा’ नवलपरासीको गौरीगञ्जबाट सुरु गरेका छन् । आज बिहान स्थानीय चोकमा रहेको जननायक विपी कोइरालाको प्रतिमामा माल्यार्पण गरेर थापाले संवाद यात्रा सुरु गरेका हुन् ।
यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट सुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपिगञ्जमा पुगेर रोकिएको थियो ।
दोस्रो चरणको संवाद यात्रा आज, भोलि र पर्सि नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा हुने काँग्रेस केन्द्रीय सदस्य अजयवावु शिवाकोटीले जानकारी दिए ।
महामन्त्री थापाले संवाद यात्रामा स्थानीयसँग छलफल गर्ने र उनीहरूका समस्याहरू सुन्ने छन् । यात्राका क्रममा आफूले बोल्ने भन्दा पनि स्थानीयका कुरा सुन्ने, विकास निर्माणका कार्यहरूको निरीक्षण गर्ने, स्थानीयको घरदैलोमा पुग्ने थापाको योजना छ ।
सुरुदेखि नै हुलाकी मार्गमा भइरहेको संवाद यात्रा अन्तर्गत आज महामन्त्री थापा नवलपरासीको गोपीगञ्जपछि पट्खौली हुदै जिल्ला पार्टी कार्यालय पुगेर रूपन्देही प्रस्थान गर्नेछन् ।
आजै रूपन्देहीको धकधही, भैरहवा, जिल्ला पार्टी कार्यालय हुँदै बेथरीसम्म पुग्ने छ । भैरहवामा उनले उद्योग व्यवसायीसँग संवाद गर्नेछन् भने बेथरीमा स्थानीय सरोकारका विषयमा छलफल गर्नेछन् ।
भोलि १६ गते रूपन्देहीको लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राज्ञिक अन्तरक्रियाबाट संवाद यात्रा सुरु भई कपिलवस्तु प्रवेश गर्नेछ ।
थापा नेतृत्वको संवाद यात्रा टोलीले भोलि नै कपिलवस्तुको लबनी, जिल्ला पार्टी कार्यालय, महाराजगञ्जको पालिका कार्यालय हुँदै चन्द्रौटासम्म संवाद गर्नेछन् ।
त्यसैगरी थापा १७ गते बिहान दाङको गोवरडिहामा पुगेर जङ्ग्रहवा हुँदै बाँके प्रस्थान गर्नेछन् । बाँकेमा उनले १७ गते सिक्टा सिँचाइ आयोजनाको अवलोकन गर्ने र फत्तेपुरमा जनसंवाद गर्ने कार्यक्रम छ ।