बीरगन्ज,०३बैशाख । बीरगन्ज महानगरपालिका वडा नम्बर २१ मा नवनिर्मित वडा कार्यालय भवनको जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले उद्घाटन गरेका छन् ।
भवनको उद्घाटन गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद) समेत रहेका यादवले आफ्नै भवन निर्माणसँगै वडा कार्यालयबाट हुने सेवा प्रवाहमा सहजता आउने विश्वास व्यक्त गरे । आफ्नै भवन भएपछि हाल पुरानो पूर्वाधार रहितको साँघुरो भवनबाट सञ्चालित वडा कार्यालयबाट सेवाग्राहीले भोगिरहेको सास्तीको पनि अन्त्य हुने उनले बताए ।
जनतासँग प्रत्यक्ष रूपमा काम गर्ने सरकार भनेकै स्थानीय तह भएको बताउँदै उनले भने, ‘गुणस्तरीय र जनअपेक्षाअनुसार सेवा प्रदान गर्न कार्यालयको ठूलो भूमिका हुन्छ । भवन बन्नु पूर्व रहेको वडा कार्यालयमा कुनै पनि सुविधा थिएन । सेवाग्राहीका लागि राम्रोसँग बस्ने ठाउँको समेत व्यवस्था थिएन । नयाँ भवन बनेसँगै यस्ता खाले सबै समस्याको समाधान हुने मेरो छ ।’
उनले महानगरपालिकाका हरेक वडाको आफ्नै छुट्टै भवन हुनुपर्ने बताए । बाँकी रहेका वडाहरूमा पनि पर्याप्त सुविधासहितको वडा कार्यालय भवन बनाउनका लागि आवश्यक बजेट व्यवस्था गर्न आफूले पहल गर्ने उनले बताए ।
पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले संघ सरकारले बीरगन्ज महानगरलाई हेपेको आरोप लगाए । ‘मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज हो । तर संघ सरकारले वीरगन्जका लागि पठाएको बजेट पर्याप्त हुँदैन । पूर्वाधार निर्माणको आवश्यकता रहेको वीरगन्जलाई ठूलो अनुदान दिनुपर्नेमा बढी राजश्व उठ्ने काठमाडौँलाई धेरै अनुदान दिने सरकारको नीति गलत छ,’ उनले भने ।
बीरगन्जको विकासका लागि विशेष प्याकेज ल्याउन आफू लागिपरेको उनले सुनाए ।कार्यक्रममा वडाध्यक्ष राधाकृष्ण साह रौनियारले वडा कार्यालयको भवन निर्माण भएपछि आफ्नो सपना पूरा भएको बताए