८ जेठ, काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई २ वर्ष कैद र २५ करोड ४७ लाख बिगो भराउने फैसला गरेको हो । अदालतले बिगो बराबर नै जरिवाना हुने फैसला गरेको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेससम्बन्धी भ्रष्टाचार मुद्दामा अदालतले पौडेल सहित चार जनालाई दोषी ठहर गरेको हो । दोषी ठहर हुनेहरूमा कानिकलतर्फका तत्कालीन सीडीई नवीन कुमार पोखरेल, मेपटेक बिल्डिङ सर्भिसेस प्रालिका भुवन महर्जन र इन्जिनियरिङ मार्केटिङ कन्सर्न कम्पनीका प्रबन्ध निर्देशक रोहितमान प्रधान रहेका छ ।
अदालतले उनीहरुलाई ६ महिना कैद सजायको फैसला गरेको छ । यस प्रकरणमा अन्य पाँच जनाले भने सफाइ पाएका छन्।
सेक्युरिटी प्रिन्टिङ प्रेससम्बन्धी प्रकरणमा अख्तियारले गतबर्ष पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । ६९ करोड ८ लाख ८१ हजार रुपैयाँ हिनामिना भएको अख्तियारको दाबी थियो ।