२८ जेठ, अमेरिका । टी–२० विश्वकपमा भारतले पाकिस्तानमाथि रोमाञ्चक जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा ११९ रनमा मात्रै सीमित भएको भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको हो । भारतले दिएको १२० रनको लक्ष्य पछाएको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर ११३ रन मात्र बनाए पछि भारतले खेल ६ रनले जितेको हो ।
जसप्रित बुमराहले चार ओभरमा मात्र १४ रन दिँदै तीन विकेट लिएर भारतको जितका नायक बने। उनी प्लेयर अफ द म्याच पनि घोषित भए । कुनै बेला पाकिस्तानलाई ३० बलमा ३७ रन चाहिएको थियो र ६ विकेट बाँकी थियो तर भारतीय बलरले ३० रन दिएर पाकिस्तानलाई ७ विकेटमा कुल ११३ रनमा सीमित बनाएका थिए ।
टी-२० विश्वकपका आठ खेलमा पाकिस्तानमाथि भारतको यो सातौं र ओडीआई-टि-२० विश्वकपसहित १६ खेलमा पाकिस्तानमाथि भारतको १५ औँ जित हो । यो जितपछि समूह ए मा रहेको भारतले लगातार दोस्रो जित हासिल गरेको छ । २ खेलमा ४ अंक हासिल गरेको भारत समूह ए मा शीर्ष स्थानमा रहेको छ । त्यस्तै पाकिस्तानले भने लगातार दोस्रो हार बेहोरेको छ । पाकिस्तानले पहिलो खेलमा अमेरिकासँग हार बेहोरेको थियो ।