काठमाडौं,२८जेठ ।नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जारी आईसीसी टी -२० विश्वकपमा वेस्ट इन्डिजमा दुई खेल खेल्ने भएका छन्। आज (साेमबार)एक विज्ञप्ति जारी गर्दै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले लामिछाने वेस्ट इन्डिज प्रस्थान गरेको र आईसीसी टी-२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेलमा सहभागी हुने जानकारी दिएका हुन्।
क्यानले युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसीसमक्ष पेश गरेको जनाएको छ। क्यानले लेग स्पिनर लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेका तर उनको अमेरिकाले भिसा नदिएपश्चात अमेरिकामा हुने खेलमा सहभागी हुन नपाएको उल्लेख गरेको छ।
‘जारी आईसीसी टी -२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रस्थान भई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौं।’ क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सम्मानित उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको थियो। लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेका तर उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेश विरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने जानकारी गराउन चाहन्छौं।’

उच्च अदालत पाटनले लामिछानेको मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसला उल्टाउँदै सफाइ दिएपछि क्यानले लामिछानेमाथि राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलमा गरेको निलम्बन फुकाएको थियो।
क्यानले १० वर्षपछि नेपालले सहभागिता जनाइरहेको क्रिकेटको यस महा -उत्सवमा सम्पूर्ण नेपाली क्रिकेट समर्थकहरू एक ढिक्का भई नेपाली क्रिकेट टोलीको हौसला बढाइदिनुहुन समेत आह्वान गरेको छ। नेपालले दोस्रो खेल श्रीलंकासँग जुन ११, तेस्रो खेल दक्षिण अफ्रिकासँग जुन १४ र चौथो खेल बंगलादेशसंग जुन १६ मा खेल्नेछ।