रौतहट,३ असार । विषादी प्रयोग गरी पकाइएको आँप रौतहटको बजारमा जताततै बिक्री वितरण भइरहेको खुलेको छ । मानव स्वास्थयका लागि हानिकारक रासायनिक पदार्थ प्रयोग गरी पकाइएको आँप रौतहटको प्रत्येक पसलमा बिक्रिवितरण भइरहेको छ । आँपको सिजन सुरु हुनअगावै जिल्लाको गाैर, गरुडा, चन्द्रनिगाहपुर,कटहरिया, शिवनगर,लगायतका बजारमा विषादी हालेर पकाइएको आँप व्यापारीले महंगो मूल्यमा बिक्रि गरिरहदा सरोकारवाला निकायले कुनै चासो दिएको देखिदैन ।


चन्द्रनिगाहपुर चोकको विभिन्न घुम्ती पसलमा बिक्रीका लागि विषादी प्रयोग गरिएका आँप राखिएका छन् । आँपमा विषादी हालेर पकाइने गरेकोले सावधानी अपनाउन पनि स्वास्थ्यकर्मीहरूको सुझाव छ ।
सिम्स हस्पिटलका प्रमुख डा. रामकिशोर साहले हानिकारक रसायन हालेर पकाएको आँप खादा मानिसलाई रिङ्गटा लाग्ने, वाकवाकी आउने, पेट पोल्ने र झाडापखाला हुने तथा शरीरमा विभिन्न समस्या आउन सक्ने बताए ।

विभिन्न किसिमका विषादी प्रयोग गरी पकाएको आँप लगायत अन्य फलफूल सेवन गर्दा स्वास्थ्य बिग्रने उनको भनाई छ । जिल्लाको चन्द्रनिगाहपुर, गरुडा तथा गौर क्षेत्रमा कार्बाइड अत्यधिक प्रयोग गरिएको आँप निर्बाध बिक्री वितरण गरिएको भएपनि त्यसको रोकथामतर्फ हालसम्म स्थानीय तह तथा प्रशासनले कुनै पहल नगरेको उपभोक्ता हित संरक्षण मञ्च रौतहटका अध्यक्ष टीका घिमिरेले बताए । उनले मानव स्वास्थ्यमा खेलबाड हुने गरी विषादी प्रयोग गरिएको आँप बिक्री वितरण तुरुन्त रोक्न पनि माग गरेका छन् ।
चिकित्सकहरूले विषादी प्रयोग गरेको आँप खाँदा दीर्घकालीन रुपमा मानसिक रोग, टाउको दुख्ने, अनिद्रा, स्मरण शक्तिमा ह्रास, मस्तिष्क, आँखा र मिर्गौलामा असर पर्न सक्ने भन्दै सचेत गराउँदै आएका छन् ।