४ असार, काठमाडौं । टी–२० विश्वकपमा न्युजिल्यान्डले जितसँगै यात्रा समाप्त गरेको छ । समूह ‘सी’ को अन्तिम खेलमा न्युजिल्याण्डले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गरेर विश्वकपको यात्रा टुंगाएको छ । टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनी १९.४ ओभरमा ७८ रनमा अलआउट भयो ।
७९ रनको लक्ष्य न्युजिल्यान्डले १२.२ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो । न्युजिल्यान्डका बलर लुकी फर्गुसनले नयाँ कीर्तिमान बनाएका छन् । उनले पपुवा न्युगिनी विरुद्ध ४ ओभरमा शून्य रन दिएर ३ विकेट लिएका थिए ।
उनले आफ्नो कोटाका सबै चार ओभर मेडन बलिङ गरेर नयाँ कीर्तिमान बनाएका छन् । उनी टी–२० विश्वकपमा सबै चार ओभर मेडन बलिङ गर्ने पहिलो बलर बनेका छन् । उनले पपुवा न्युगिनी विरुद्ध ४ ओभरमा शून्य रन दिएर ३ विकेट लिएका थिए ।
साथै फर्गुसन टी–२० अन्तर्राष्ट्रिय खेलमा सबै मेडन ओभर बलिङ गर्ने भने विश्वकै दोस्रो बलर बनेका छन् । उनीभन्दा अगाडि क्यानडाका साद बिन जफरले पानामाविरुद्धको २०२१ मा खेलेको खेलमा चारै ओभर मेडन गरेर २ विकेट लिएका थिए ।
न्यूजील्याण्ड यस विश्वकपमा सुरुका दुवै खेलमा हार बेहोरेपछि विश्वकपको सुपर आठमा पुग्न असफल भएको थियो ।