बीरगन्ज,०५ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि प्रक्रिया अघि बढाइएको बताएका छन् ।

बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । उनले जनशक्ति थप गर्नका लागि आफूले अर्थ मन्त्रालयमा दरबन्दी बढाउने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम)को कामलाई अघि बढाएको बताए ।
मन्त्री यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि सांसदहरूको दबाब आवश्यक रहेको पनि बताए ।
उनले भने, ‘मैले मन्त्री भएकै दिन स्वास्थ्य जनशक्ति थप्नुपर्छ भनेर निर्णय गरेँ । र त्यसको लागि प्रक्रियाहरू अगाडि बढाएका छौँ । अर्थ मन्त्रालयलाई ओएनएमका लागि हामीले प्रक्रिया अघि बढाई सकेका छौँ । मलाई लाग्छ–माननीयजीहरुको दबाब र समग्र माननीयजीहरुको चाहना अनुरूप यो प्रक्रिया सरकारले अगाडि बढाउँछ भन्ने मैले विश्वास लिएको छु ।’
मन्त्री यादवले सरकारी अस्पतालहरूमा सहज र सुलभ गुणस्तरीय सेवाका लागि आफूले अनुगमनको कामलाई कडाइका साथ अघि बढाएको दाबी समेत गरे ।