काठमाडौं,६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यमा नयाँ सरकार गठन भएको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले देशमा व्याप्त गहिरो निरासा हटाएर जनतामा आशा र उत्साहको सञ्चार गर्दै देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको दाबी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘देशमा व्याप्त गहिरो निरासा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गर्न अनि देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको हो,’

राष्ट्रपति रामचन्द्र पौडेलबाट असार ३० गते संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त नेकपा एमालेका अध्यक्ष ओलीले असार ३१ गते शपथग्रहण गरेका थिए ।
प्रधानमन्त्री ओलीले पदभार ग्रहण गरेको तेस्रो दिन साउन २ गते संसद् सचिवालयलाई पत्र पठाएर विश्वासको मत लिने जानकारी गराएका थिए ।
संसद् सचिवालयलाई संविधानको धारा ७६ (४) बमोजिम विश्वासको मतका लागि साउन ६ मा बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूचीमा राखिदिन उनले
अनुरोध गरेका थिए।
नवनियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । विश्वासको मत प्राप्त गर्न प्रधानमन्त्री ओलीलाई २७५ सदस्यीय प्रतिनिधिसभामा १३८ जना सांसदहरुको मत आवश्यक पर्छ ।