१७ साउन, काठमाडौं । बागमती, लुम्बिनी र कर्णालीका नवनियुक्त प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। शपथका लागि राष्ट्रपति कार्यालयले साँझ ५ बजेको समय तोकेको छ।
राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को साउन १४ गतेको बैठकको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बुधबार बागमती प्रदेश प्रमुखमा दीपक देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई नयाँ प्रदेश प्रमुख नियुक्त गरेका हुन्।
यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियारलाई प्रदेश प्रमुख बनाएको थियो। उनीहरूलाई हटाएर कांग्रेस–एमाले गठबन्धनले नयाँ प्रदेश प्रमुख नियुक्त गरेको हो।