बारा,०७ भदाै । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेस सरकार मधेसी जनतालाई लुट्नकै लागि बनेको दाबी गरेका छन् । मधेसवादी दलको भ्रष्ट चरित्रले मधेस बदनाम भएको उनले बताए ।


बाराको खुटुवा प्रसौनीमा आजपाद्वारा आयोजित भेलालाई सम्बोधन गर्दै साहले मधेसी जनतालाई लुट्न, ठग्नु मधेस सरकार र मधेसवादी दलका नेताहरूको पेसा नै बनिसकेको ठोकुवा गरे ।
उनले भने, ‘छोरीलाई वितरण गरिने साइकल चोरेका छन् । दलितहरूको घर निर्माणमा भ्रष्टाचार गरेको, राहतको पैसा समेत लुटेका छन् । बजेटको किनबेच एवं कृषकको अनुदानमा कमिसन यी भ्रष्ट र चोर नेताहरूको पेसा भएको छ ।’

किसानको अनुदान तथा पीडितको राहतमा समेत भ्रष्टाचार गरेका लुटेराहरूले मधेसलाई समृद्ध बनाउने काम गर्नै नसक्ने साहले बताए ।
भ्रष्टाचार बाहेक मधेस सरकारले कुनै कामै नगरेको बताउँदै उनले जनतालाई ढाँट्ने, लुट्ने, ठग्ने पेसा नै बनेको बताए । सरकारको काम भनेको देश र जनताका लागि विकास, समृद्धि जस्ता राम्रो काम गर्नु भए पनि मधेस सरकारले हरेक योजनामा लुट मच्चाएको उनले बताए।
‘भ्रष्ट नेताहरु मालामाल भएका छन्, आम जनता लाचार छन् । काण्डैकाण्डले देश बदनाम छ । युवाहरु विदेशमा मर्नुपर्ने स्थितिको अन्त्यका लागि तेस्रो जनआन्दोलनको बिकल्प छैन्’ साहले भने, ‘भ्रष्टाचारीहरु अहिले सम्मानित भईरहेका छन तर स्वभिमानी युवाहरु अपमानित हुनुपर्ने, विदेशमा मर्नुपर्ने अवस्थाको अन्त्य हुनैपर्छ । राज्यले नै भ्रष्टाचारीलाई जोगाउँने सम्मान गर्ने कामले देश कंगाल बन्दै गईरहेको छ । आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि युवाहरु उठनैपर्छ ।’
आजपाको स्थानीय नेता गणेश रामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आजपाका उपाध्यक्ष अशोक लामा, महासचिब त्रिभुवन साह, सचिव उमेश कुशवाहा लगायतको सहभागिता रहेको थियो ।