सर्लाही,१४ असाेज । सर्लाहीको रामनगर गाउँपालिका–२ इनर्वास्थित धान खेतमा एक ४ वर्षीय बालकको शव फेला परेको छ । जिल्लाको दक्षिणपश्चिम क्षेत्रमा पर्ने रामनगर गाउँपालिका–२ इनर्वाका रामध्यान रायका ४ वर्षीय छोरा तेजस्वी यादवको शव धान खेतमा फेला परेको हो ।
बालक आइतबार साँझ साढे सातबजे घरबाटै हराएका थिए । उनको अबेर रातीसम्म परिवारजनले खोजी गरेपनि भेट्न सकेको थिएन । बालकको शव सोमबार मात्र धान खेतमा फेला परेको प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार घरको ५ सय मिटर टाढा धान खेतमा बालकको शव फेला परेको छ ।
बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको छ । बालकको सम्भावित मृत्यु नभएको र घटना शंकास्पद देखिएकोमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।