जेनेभा, २९ असाेज । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अन्तर व्यवस्थापिका सङ्घका अध्यक्ष डा.तुलिया अक्सन एवं महासचिव मार्टिन चुङगोङ सँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटमा नेपालको सङ्घीय संसद र अन्तर व्यवस्थापिका सङ्घसँगको आपसी सहकार्य, सहयोग आदान प्रदान, लोकतन्त्रका लागि संसदीय भूमिका लगायतका विषयमा कुराकानी भएको थियो ।
भेटमा अध्यक्ष दाहालले आइपीयूका विभिन्न सभा तथा कार्यक्रमहरूले लोकतन्त्र, मानवअधिकार, लैङ्गिक समानता, युवा सशक्तीकरण, दिगो विकास लगायतका सवालमा संवाद, सहकार्य र असल अभ्यासहरूको आदान प्रदानबाट संसदीय भूमिका प्रभावकारी बनाउन सहयोग पुगेको बताए ।

अध्यक्ष दाहालले संसदीय अभ्यास थप परिष्कृत गर्न र लोकतान्त्रिक संस्थाहरू थप सुदृढ गर्न अन्तर व्यवस्थापिका सङ्घसँग आफूहरूले बलियो र घनिष्ठ सहकार्य गर्न इच्छुक रहेको बताए । सो अवसरमा उनले आइपीयूसँग सिधा सम्पर्कमा रहन यसको सचिवालयमा नेपालको पनि सहभागिता गराउनतर्फ सोच्न आग्रह गरे ।
संविधानसभाबाट जारी संविधानमार्फत नेपालले महिला,अल्पसङ्ख्यक, सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न समावेशी र समानुपातिक प्रणाली अवलम्बन गरेको भन्दै अध्यक्ष दाहालले सङ्घीय संसदमा ३३ प्रतिशत तथा प्रदेश र स्थानीय तहमा ४१ प्रतिशत महिलाहरू जनप्रतिनिधिको रूपमा सहभागी रहेको बताए ।
लोकतन्त्रका लागि, सबैका लागि भन्ने आदर्शमा अडिग रहँदै अन्तर व्यवस्थापिका सङ्घले स्थापनाकाल देखि नै लोकतान्त्रिक मूल्यमान्यता, लोकतान्त्रिक पद्धति र लोकतान्त्रिक संस्था प्रवर्द्धनमा अहम् भूमिका निर्वाह गर्दै आएको छ ।
जनप्रतिनिधिमार्फत विश्वभरका मानिसले अनुभूत गरेका आवश्यकता, आकांक्षा एवम् समस्याहरू अभिव्यक्त गर्न सकिने साझा मञ्चको रूपमा अन्तर व्यवस्थापिका सङ्घलाई आफूले बुझेको भन्दै अध्यक्ष दाहालले यसको गरिमा र महत्त्व विश्वमा झनै बढ्दै गइरहेको बताए ।
सो अवसरमा अन्तर व्यवस्थापिका सङ्घका अध्यक्ष डा।तुलिया अक्सनले नेपालले विगतदेखि नै आइपीयूमा सक्रिय सहभागिता जनाएको भन्दै खुसी व्यक्त गरिन् । नेपालको सङ्घीय संसदमा ३३ प्रतिशत महिला सहभागी हुनु निकै प्रशंसनीय रहेको भन्दै समावेशीकरणमा नेपालले राम्रो काम गरिरहेको बताए ।
आइपीयूको सचिवालयलाई अझै व्यवस्थित बनाउन लागिरहेको भन्दै अध्यक्ष तुलियाले आइपीयू सचिवालयमा नेपाली प्रतिनिधित्व गराउन आफूले पहल गर्ने बताए ।
भेटमा नेपाली संसदीय प्रतिनिधिमण्डलका सदस्यहरूको पनि सहभागिता रहेको थियो ।