काठमाडौं – नेपाल संवत् ११४५ आज देशभर विभिन्न कार्यक्रमहरू आयोजना गर्दै मनाइँदैछ। नेवार समुदायले यस संवत्लाई नयाँ वर्षका रूपमा विशेष महत्त्व दिएर मनाउँदै आएका छन्। नेपालको राष्ट्रिय विभूति शङ्खधर साख्वाले इ.सं. ८८० (वि.सं. ९३७) मा गरिब जनताको ऋण मोचन गरेर नेपाल संवत्को सुरुआत गरेका थिए।
लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरका अनुसार नेपाल संवत् राजा राघवदेवको शासनकालमा सुरु भई पृथ्वीनारायण शाहको शासनसम्म राष्ट्रिय संवत्को मान्यता पाएको थियो। यस संवत्लाई लिच्छविकालदेखि मौलिक संवत्का रूपमा मान्यता दिइएको हो। उनले भने, “लिच्छविकालअगाडि शक संवत् चलनमा थियो, तर नेपाल संवत् नेपाल देशको नामबाट राखिएकोले यो हाम्रो मौलिक संवत् मानिन्छ।”
वि.सं. २००७ मा प्रजातन्त्र स्थापनासँगै नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन अभियान सुरु गरिएको थियो। आज काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, र दोलखा जस्ता नेवार समुदायको बाहुल्य क्षेत्रहरूमा यो नयाँ वर्ष विशेष रूपमा मनाइँदैछ।
शङ्खधर साख्वाले गरिब जनताको ऋण मोचन गरी समाजसेवाको नमूना प्रस्तुत गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले उनलाई राष्ट्रिय विभूति घोषणा गरेका थिए। २०६५ सालमा प्रधानमन्त्री प्रचण्डले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिने घोषणा गरे।
कात्तिक कृष्ण औँसीको दिन काठमाडौंमा परम्परागत रूपमा पुरानो बहीखाता बन्द गरी कात्तिक शुक्ल प्रतिपदामा नयाँ बहीखाता सुरु गर्ने चलन अझै कायम छ।