काठमाडौं – हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो खेलमा अष्ट्रेलियालाई ११ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ।
अष्ट्रेलियाले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो। नेपालले २ विकेटको क्षतिमा १११ रन बनायो। कप्तान सन्दीप जोराले १६ बलमा ४ छक्का र ५ चौकासहित ५१ रन बनाएर टिमलाई उच्च स्कोरमा पुर्याए। यो उनको लगातार दोस्रो अर्धशतक हो। यस्तै, लोकेश बमले ३३ रन, विवेक यादव र राशिद खानले १२/१२ रन जोडे भने नारायण जोशी एक रनमा नटआउट रहे।
११२ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलिया १०० रनमै सीमित रह्यो। ज्याक उडले अष्ट्रेलियाका लागि सर्वाधिक ५५ रन बनाए भने अलेस रोसले १४ रनको योगदान दिए। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
नेपालको जितमा प्रतीश जिसीको उत्कृष्ट प्रदर्शन रह्यो, जसले ३ विकेट लिए र प्लेयर अफ दी म्याच घोषित भए। लोकेश बम र विवेक यादवले एक/एक विकेट लिए।
समूह ‘बी’ मा रहेको नेपालले यसअघि पहिलो खेलमा इंग्ल्यान्डलाई हराएको थियो र यस जितसँगै नेपाल समूहको शीर्ष स्थानमा उक्लिएको छ।