सर्लाहीको बरहथवा बजारमा गएराति भीषण आगलागी हुँदा करिब तीन करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको छ।
बरहथवा नगरपालिका-७ मा पर्ने किसुन दासको घरमा सञ्चालित राजवीर होलसेल किराना पसल, आलु भण्डार, र कपडा सिलाउने पसलमा आगलागीले स्थानीय व्यवसायीलाई ठूलो नोक्सानी पुर्याएको हो।
इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी गौतम थापाका अनुसार, नरेश साहले सञ्चालन गरेको किराना पसलमा विशेष रूपमा चाडपर्वका लागि राखिएका सामग्री जलेर नष्ट भएकोले ठूलो क्षति भएको छ।
आगो निभाउन स्थानीय वासिन्दा, सुरक्षाकर्मी, र हरिवन नगरपालिकाको दमकलको दुई घण्टाभन्दा बढी प्रयासपछि राति २ बजेतिर आगो नियन्त्रणमा आएको थियो। आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन।