बीरगन्ज,१७ कार्तिक । खानेपानी मन्त्री प्रदीप यादवले आम नेपाली बिचको एकतालाई नेपाल संवत्ले थप मजबुत बनाएको बताउनुभएको छ ।
नेपाल संवत् ११४५ प्रारम्भ भएको अवसरमा आज बीरगन्जमा नेवार समुदायद्वारा आयोजित नेपाल संवत् सम्बन्धि र्याली तथा राष्ट्रिय विभूति शंखधर शाख्वाको सालिकमा माल्यार्पण पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै खानेपानी मन्त्री यादवले नेपाल संवत्ले सम्पूर्ण नेपालीमा सहिष्णुता, मेलमिलाप, भाइचारा, मैत्रीभाव, बढाउन सहयोग पुर्याउने बताउनुभयो ।
मन्त्री यादवले नेपालको राष्ट्रिय पहिचान र सांस्कृतिक एकताको प्रतीकको रुपमा नेपाल संवत् स्थापित भएकोमा खुशी व्यक्त गर्नुभयो ।
उहाँले परोपकारी शंखधर साख्वाले जनताको ऋणमोचन गराएको स्मरणमा सुरु गरिएको नेपाल संवत्को गौरवमय इतिहास रहेको दाबी गर्नुहुँदै ११ सय ४५ वर्षअघि तत्कालीन लिच्छवी राजा राघवदेवको पालामा परोपकारी शंखधर साख्वाले ऋणमा परेका जनताको ऋणमोचन गरिदिएको स्मरणमा यो संवत् प्रचलनमा ल्याइएको बताउनुभयो ।